Logo
१२ बैशाख २०८१, बुधबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पटक-पटक बल्झिने विवाद : ओली कति नम्बरका प्रधानमन्त्री ?

काठमाडौं : जब नयाँ प्रधानमन्त्री नियुक्त हुन्छन् तब कति औं प्रधानमन्त्री भन्ने विवाद सुरु हुन्छ। बिहीबार (२०७४ फागुन ३) एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो विवादले बहसको रुप लिएको छ ।कसलाई प्रधानमन्त्री मान्ने र कसलाई नमान्ने लिपिवद्ध इतिहास नहुँदा यो विवाद पटक-पटक बल्झिने गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाँचजना मुख्तियार (भीमसेन थापा, पण्डित रंगनाथ पौड्याल, पुष्कर शाह, रणजंग पाण्डे र फत्यजंग शाह) लाई प्रधानमन्त्री मानेपछि यो विवाद अझ बढेको छ।

मुख्तियार पनि प्रधानमन्त्री ?
दुई सय ११ वर्षको इतिहास हेर्दा नेपालमा ३८ जना व्यक्ति ६२ औँ प्रधानमन्त्री बनेका छन्। भीमसेन थापा यताका मुख्तियारलाई प्रधानमन्त्री मान्ने र दोहोरिएकालाई पनि गन्ने हो भने केपी ओली ६२ औं प्रधानमन्त्री हुन् । यदि, पाँच मुख्तियारलाई नमान्ने र दोहोरिएकालाई पटकपटक गणना गर्दा ओली ५७ औं प्रधानमन्त्री हुन्छन् । दोहोरिएकालाई गणना नगर्ने र भीमसेन थापापछिका मुख्तियारलाई पनि प्रधानमन्त्री नमान्ने हो भने ओली ३८ औं प्रधानमन्त्री हुन् ।

होइन, पाँच मुख्तियारलाई प्रधानमन्त्री नमान्ने र दोहोरिएकालाई पनि नसमेट्ने हो भने ओली ३१ औं प्रधानमन्त्री हुन्। प्रधानमन्त्रीको संख्याबारे सामाजिक सञ्जालमा बोल्न सजिलो भए पनि इतिहासको सही अभिलेख नहुँदा प्रधानमन्त्रीको संख्या लेख्नु विवाद सिर्जना गर्नु जस्तै भएको छ।

माथवरबाट गणना
साहित्यकार एवम् इतिहासविद दिनेशराज पन्त भीमसेन थापादेखि फत्यजंग शाहसम्म मुख्तियारलाई प्रधानमन्त्रीमा राख्नु नै गलत भएको बताउछन्। ‘भीमसेन थापालाई पहिलो प्रधानमन्त्री भन्नु नै गलत छ’, इतिहासविद् पन्त भन्छन्, ‘माथवर सिंह थापादेखि मात्र प्रधानमन्त्री भनिएकाले त्यहीँबाट प्रधानमन्त्रीको संख्या गणना गर्नु पर्छ।’

प्रधानमन्त्रीको संख्याको विवादका विषयमा पत्रकार राजकुमार रेग्मीसमेत इतिहासविद् पन्तसँग सहमत देखिन्छन्। ‘जसरी नेपालको राष्ट्रिय खेल डण्डीबीयो या कबड्डी होइन, त्यसैगरी भीमसेन थापा पहिलो प्रधानमन्त्री होइनन्। खेलको चर्चा किन गरिएको भने सामान्य ज्ञानका कतिपय किताबमा डण्डीबीयो या कबड्डी राष्ट्रिय खेल हो लेखिएको पाइन्छ’, फरक उदाहरण दिँदै रेग्मी भन्छन्, ‘केही त्यस्ता किताबमा हचुवाका भरमा भीमसेन थापालाई पहिलो प्रधानमन्त्री लेखियो, त्यसैले गलत तथ्य प्रसारण भइरहेको छ।’

खिलराज पनि प्रधानमन्त्री ?
यतिमात्र होइन सरकारले मन्त्रिपरिषद्का अध्यक्ष सुवर्ण शमशेर जबरा, डा. तुलसी गिरी र खिलराज रेग्मीलाई पनि प्रधानमन्त्री मानेको छ। यद्यपि सरकारको आधिकारीक वेबसाइटमा मन्त्रिपरिषद्को अध्यक्ष बनेका पूर्वराजा ज्ञानेन्द्रलाई भने प्रधानमन्त्रीको रुपमा उल्लेख गरेको छैन। यसरी हेर्दा सरकारले राखेको विवरण नै कुनै अनुसन्धान र सोचबिना राखेको देखिन्छ।

यसलाई सच्याउनुपर्ने महसुस सरकारले नगरेसम्म गलत इतिहास नसच्चिने इतिहासविद् पन्तको भनाइ छ। ‘यस्तो ऐतिहासिक तथ्यलाई सच्याउन सरकारी तहमै पहल हुनुपर्छ’, पन्त भन्छन्, ‘इतिहासको महत्त्वपूर्ण विषयलाई सदैव विवादमा राख्नु हुँदैन।’

सरकारले सुधार्नुपर्छ इतिहास
पन्तका अनुसार यस्तो गलत तथ्य सच्याउने जिम्मा सरकारले संस्कृति मन्त्रालय, पुरातत्व विभाग र प्रज्ञा प्रतिष्ठानजस्ता सरकारका आधिकारिक निकायलाई जिम्मा दिएर समाधान गर्न सक्छ। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा एल्लेख भएको विवरण अनुसार दोहोरिएका व्यक्तिलाई नगन्दा केपी शर्मा ओली नेपालका ३८ औं प्रधानमन्त्री हुन्।

ओली कतिऔँ प्रधानमन्त्री ?
सिंहदरबारमा तस्बिर झुण्ड्याएकै आधारमा प्रधानमन्त्रीको संख्या लेख्ने हो भने पाँच पटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, चार पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द, तीन पटक प्रधानमन्त्री बनेका कीर्तिनिधि विष्ट, दुई पटक प्रधानमन्त्री बनेका केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, तुलसी गिरी, मातृका कोइराला, जंगबहादुर राणा र फत्येजंग शाको सबै संख्या गन्दा ओली ६० औं प्रधानमन्त्री हुन्छन् !

तर, दोहोरिएका व्यक्तिलाई प्रधानमन्त्री नभन्ने र सरकारको आधिकारिक वेबसाइटलाई मान्ने हो भने ओली ३८ औं प्रधानमन्त्री हुन्। तर, यसलाई इतिहासले स्वीकारेको छैन। सबैभन्दा पहिला १९०० सालमा माधवरसिंह थापालाई ‘प्राइम मिनिस्टर’ भनेर औपचारिक रुपमा सम्बोधन गरिएको थियो । उनलाई पहिलोपटक प्राइम मिनिस्टर भनिएकाले पहिलो प्रधानमन्त्रीका रुपमा उनकै नाम उल्लेख गर्दा अहिले प्रधानमन्त्री बनेका ओली नेपालका ३४ औं प्रधानमन्त्री हुन्छन् भन्दै अन्नपुर्ण पोष्टमा खबर छ ।

इतिहासले स्वीकारेका प्रधानमन्त्री
१. माथवरसिंह थापा,
२. जंगबहादुर राणा,
३. बमबहादुर राणा,
४. रणोदीप सिंह
५.वीर शमशेर
६. देव शमशेर
७. चन्द्र शमशेर
८. भीम शमशेर
९. जुद्ध शमशेर
१०. पद्म शमशेर
११. मोहन शमशेर
१२. मातृकाप्रसाद कोइराला
१३. टंकप्रसाद आचार्य
१४. डा. केआई सिंह
१५. सुवर्ण शमशेर
१६. बीपी कोइराला
१७. डा. तुलसी गिरी
१८. सूर्यबहादुर थापा
१९. कीर्तिनिधि विष्ट
२०. नगेन्द्रप्रसाद रिजाल
२१. लोकेन्द्रबहादुर चन्द
२२. मरिचमान सिंह श्रेष्ठ
२३. कृष्णप्रसाद भट्टराई
२४. गिरिजाप्रसाद कोइराला
२५. मनमोहन अधिकारी
२६. शेरबहादुर देउवा
२७. पुष्पकमल दाहाल प्रचण्ड
२८. माधवकुमार नेपाल
२९. झलनाथ खनाल
३०. डा. बाबुराम भट्टराई
३१. खिलराज रेग्मी
३२. सुशील कोइराला
३३. केपी ओली

सरकारी तथ्यांक उल्लेख ३८ प्रधानमन्त्री
३८. केपी शर्मा ओली २०७४ साल फागुन ३ गते
३७. सुशील कोइराला २०७० साल माघ २८ गतेदेखि २०७२ असोज २४
३६. खिलराज रेग्मी २०६९ चैत १ देखि २०७० माघ २८
३५. बाबुराम भट्टराई २०६८ साल भदौ १२ देखि २०६९ साल फागुन ३०
३४. झलनाथ खनाल २०६७ साल माघ २३ देखि २०६८ भदौ ११
३३. माधवकुमार नेपाल २०६६ साल जेठ ११ गतेदेखि २०६७ साल माघ २२
३२. पुष्पकमल दाहाल प्रचण्ड २०६५-२०६६, २०७३ साल साउन १९ गतेदेखि ०७४ जेठ २३ गते
३१. शेरबहादुर देउवा पहिलो पटकः २०५२-२०५३, २०५८-२०५९, २०६१-२०६१, २०७४ साल जेठ २४ देखि २०७४ फागुन ३
३०. मोनमोहन अधिकारी २०५१-२०५२
२९. गिरिजाप्रसाद कोइराला २०४८-२०५१, २०५४-२०५५, २०५५-२०५६, २०५६-२०५८, २०६३-२०६५
२८. कृष्णप्रसाद भट्टराई २०४७-०४८, ०५६-०५६
२७. मरिचमान सिंह श्रेष्ठ वि.सं. २०४३ – २०४६
२६. लोकेन्द्रबहादुर चन्द वि.स.२०४० – २०४२, वि.सं. २०४६ – २०४७, वि.सं. २०५३ – २०५४, वि.सं. २०५९ – २०६०
२५. नगेन्द्रप्रसाद रिजाल वि.सं.२०३० – २०३२, वि.सं . २०४२
२४. कीर्तिनीधि विष्ट वि.सं.२०२५ – २०२६, वि.सं. २०२८ – २०३०, वि.सं. २०३४ – २०३६
२३. सुर्यबहादुर थापा- अध्यक्ष मन्त्रिपरिषद् वि.सं. २०२१ – २०२३, प्रधानमन्त्री (वि.सं. २०२३ – २०२५, वि.सं. २०३६ – २०४०, वि.सं. २०५४ – २०५४, वि.सं. २०६० – २०६१
२२. डा. तुलसी गिरी अध्यक्ष मन्त्रिपरिषद् वि.सं. २०१९ – २०२१ ( प्रधानमन्त्री) वि.सं. २०३२ – २०३४
२१. विश्वेश्वरप्रसाद कोइराला वि.सं. २०१६ – २०१७
२०. सुवर्ण शमशेर ज.व.रा. वि.सं. २०१५ – २०१६
१९. डा. के.आई.सिंह वि.सं.२०१४ – २०१४
१८. टंकप्रसाद आचार्य वि.सं.२०१२ – २०१४
१७. मातृका प्रसाद कोइराला वि.सं.२००८ – २००९, वि.सं.२०१० – २०११
१६. मोहन शमशेर ज.व.रा. वि.सं. २००५ – २००८
१५. पद्म शमशेर ज.व.रा. वि.सं.२००२ – २००५
१४. भीम शमशेर ज.व.रा. बि.सं.१९८६ – १९८९
१३. जुद्ध शमशेर ज.व.रा. वि.सं.१९८९ – २००२
१२. चन्द्र शमशेर ज.व.रा. बि.सं.१९५८ – १९८६
११. देव शमशेर ज.व.रा. बि.सं.१९५७ – १९५८
१०. वीर शमशेर ज.व.रा. बि.सं.१९४२ – १९५७
९. रणोदिप सिंह राणा १९३३ – १९४२
८. बमबहादुर राणा १९१३ – १९१४
७. जंगबहादुर राणा बि.सं.१९०३ – १९१३, बि.सं.१९१४ – १९३३
६. माथवर सिंह थापा, मुख्तियार बि.सं.१९०० – १९०२
५. फत्यजङ्ग शाह, मुख्तियार १८९७ – १९०० , १९०२ – १९०३
४. रणजङ्ग पाण्डे, मुख्तियार १८९६ – १८९७
३. पुष्कर शाह, मुख्तियार १८९५ – १८९६
२. पं.रङ्गनाथ पौड्याल, मुख्तियार, १८९४ – १८९५
१. भिमसेन थापा, मुख्तियार १८६३ – १८९४

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्