Logo
१५ चैत्र २०८०, बिहीबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पति प्रत्यक्ष पत्नीहरु समानुपातिकबाट : यी हुन् ११ जोडी पति पत्नी सांसद्

काठमाडौं : यो पटकको निर्वाचनबाट करिब एक दर्जन दम्पति सांसद बनेका छन् । अधिकांश पति प्रत्यक्षबाट निर्वाचित हुँदा पत्नीहरु समानुपातिकबाट सांसद् बनेका छन् । एमाले र माओवादी केन्द्रबाट संसदमा बन्ने दम्पति धेरै छन् । मधेसी दलबाट पनि दम्पति सांसद बनेका छन् । निर्वाचन आयोगले निर्वाचनको नतिजा सार्वजनिक गरेपछि यस निर्वाचनमा १० भाग्यमानी जोडीले सांसद हुने अवसर पाएका हुन् । जसमध्ये नेकपा माओवादी केन्द्रबाट पाँच, नेकपा एमालेबाट चार र राष्ट्रिय जनता पार्टी नेपालबाट एक जोडी सांसद बनेका छन् ।

यीमध्ये सबैभन्दा भाग्यमानी एमालेका पुराना नेता कृष्णगोपाल श्रेष्ठ भएका छन् । श्रेष्ठ काठमाडौ क्षेत्र नं. ९ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । श्रेष्ठकी पत्नी महिला नेतृ बीना श्रेष्ठ समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि निर्वाचित भएकी छन् । माओवादी नेता देव गुरुङ र यशोदा सुवेदी दुवै सांसद बनेका छन् । गुरुङ र सुवेदी श्रीमान श्रीमती हुन् । गुरुङले लमजुङबाट प्रतिनिधि सभाको चुनाव जितेका हुन् भने सुवेदी समानुपातिकतर्फ जनजाति कोटाबाट सांसद् बनेकी छन् ।

एमाले स्थायी समिति सदस्य शंकर पोखरेल र उनी श्रीमती सुजिता शाक्य पनि सांसदमा निर्वाचित भएका छन् । पोखरेल दाङ क्षेत्र २‘क’बाट निर्वाचित भएका छन् भने शाक्य एमालेको प्रतिनिधि सभाको समानुपातिकबाट सांसद बनेकी छन् । पोखरेल प्रदेश ५ का मुख्यमन्त्री भएका छन् । एमाले केन्द्रीय सदस्य विरोध खतिवडा मकवानपुर क्षेत्र नं. २ वाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनकी श्रीमती तथा नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल समानुपातिकबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएको नेकपा एमालेले जनाएको छ ।

माओवादी केन्द्रका महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने उनकी श्रीमती उषा पुन (गहतराज) प्रदेश ५ बाट प्रदेश सभामा समानुपातिक सांसद भएकी छन् । एमालेबाट शेरबहादुर तामाङ र उषाकला राई दुवै सांसद बनेका छन् । तामाङ सिन्धुपालचोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । राई प्रदेश नम्बर १ बाट समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा चुनिएकी छन् ।

माओवादी नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने उनी श्रीमती ओनसरी घर्तीमगर प्रतिनिधि सभाको समानुपातिकबाट सांसद चुनिएकी छन् । ओनसरी दोस्रो संविधान सभाको सभाध्यक्ष पनि हुन् । एमाले नेता रघुवीर महासेठ र उनी श्रीमती जुलीकुमारी महतो दुवै सांसद बनेका छन् । महासेठले घनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका छन् । महतो प्रतिनिधि सभाको समानुपातिकतर्फ महिला मधेशी कोटाबाट सांसद बनेकी छन् ।

राष्ट्रिय जनता पार्टी(राजपा) का अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा र उनी श्रीमती डिम्पलकुमारी झा दुवै जना सांसद बनेका छन् । अनिल रौतहटको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । डिम्पल झा समानुपातिक तर्फ प्रदेश २ बाट प्रदेश सभा सदस्यमा चयन भएकी छन् । माओवादी केन्द्रका नेता कृष्णध्वज खड्का प्युठानबाट प्रदेश सभामा निर्वाचित भएका छन् भने उनकी श्रीमती रेखा शर्मा समानुपातिकबाट प्रतिनिधि सभामा सदस्य भएकी छन् । खड्का प्युठानको क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित भएका छन् ।

माओवादी नेता शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने श्रीमती सत्या पहाडी समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएकी छन् । यद्यपि नेताहरुले भने पार्टीले नेता पत्नीका रुपमा नभई पार्टीमा महत्वपुर्ण भुमिका खेलेका कारण समानुपातिक सांसद बनाइएको बताएका छन् । नेताहरुको नेता पत्नीका रुपमा नभई महिला नेतृहरुले पार्टी र जनसंगठनमा पुर्‍याएको योगदानको कदर गर्दै सांसद बनाएर थप जिम्मेवारी दिइएको बताएका छन् ।

अर्कातिर बर्दियाट पराजित भए पनि एमालेका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री वामदेव गौतमकी धर्मपत्नि तुल्सी थापागौतम समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य भएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पत्नी मञ्जु खाँणलाई पार्टीले समानुपातिक सूचीमा राखे पनि अन्तिममा नाम काटियो भन्दै अन्नपुर्ण पोष्टमा खबर छ ।

दम्पति सांसद :

देव गुरुङ र यशोदा सुवेदी
शंकर पोखरेल र सुजिता शाक्य
महेश्वर गहतराज र उषा पुन (प्रदेश सभा)
शेरबहादुर तामाङ र उषाकला राई(प्रदेश सभा)
बर्षमान पुन र ओनसरी घर्तिमगर
रघुवीर महासेठ र जुलीकुमारी महतो
अनिलकुमार झा र डिम्पलकुमारी झा
कृष्णध्वज खड्का र रेखा शर्मा
शक्तिबहादुर बस्नेत र सत्या पहाडी
विरोध खतिवडा र मुनु सिग्देल
कृष्ण गोपाल श्रेष्ठ र बीना श्रेष्ठ

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्