Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी चतरा-विद्युत्गृह रहयो बन्दमा

इटहरी : सुनसरी जिल्लाको हालको बराह नगरपालिका–१ स्थित चतरामा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको मूल नहरमा निर्माण गरिएको चतरा विद्युत् उत्पादन गृहको दुवै टर्वाइनको विद्युत् उत्पादन उपकरण बिग्रिएपछि विद्युत् उत्पादन कार्य पूर्णरुपमा बन्द हुन पुगेका छन् ।

बराह क्षेत्रको चतरामा रहेको सिँचाइ नहरमा सप्तकोशी नदीबाट आउने बालुवा छान्नका लागि मूल नहरमा प्रयोगमा राखिएका ड्रेजर मेशिन चलाउनका लागि निर्माण गरिएको ३ दशमलव २ मेगावाट क्षेमताको विद्युत् उत्पादन उपकरण बिग्रिएका छन् । जसका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा थप भएको विद्युत् प्रसारणमा कमी आएको छ ।

झण्डै एक दशकअघि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण गृहमा जोडिएको चतरा विद्युत् गृहमा रहेका दुईवटै टर्वाइन उपकरणमा खराबी आएर विद्युत् उत्पाद हुन नसक्दा विद्युत् उत्पादन गृह बन्द गर्नुपरेको त्यहाँका इञ्जिनियर विमलप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

विसं २०६७ मा नै युनिट दोस्रो टर्वाइन मेशिन बिग्रेपछि त्यसको पार्टपूर्जाबाट चल्दै आएको युनिट पहिलो पनि विसं २०७१ देखि चल्न नसकेर बन्द हुन पुगेको जर्मन प्रविधिका ती उपकरण मर्मतमा आवश्यक उपकरण माग गरिएको भए पनि आई नपुगेकाले बनाउन कठिन भइरहेको इञ्जिनियर विमलप्रसाद पाण्डेयले जानकारी गराउनुभएको छ ।

सुनसरी–मोरङ सिँचाइ आयोजनाले मोरङ र सुनसरीको ६८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले सिँचाइ आयोजना स्तरोन्नति गर्दै नहरमा आउने बालुवा छान्नका लागि राखिएका दुईवटा ड्रेजर मेशिनमध्ये एकवटा मेशिन पनि बिग्रिएर थन्किएको छ ।

नहरको बालुवा छान्न प्रयोग गरिँदै आएको बाँकी रहेको एउटा ड्रेजर मेशिन पनि अस्थायी ज्यालादारी कर्मचारी आन्दोलनका कारण पूर्णतः बन्द हुन पुगेको छ । मेशिन बिग्रिनु र कर्मचारी आन्दोलनका कारण थिलथिलो बन्न पुगेको सुनसरी–मोरङ सिँचाइ आयोजनाअन्तर्गतको विद्युत् उत्पादन गृहका मेशिनसमेत थन्किएर ३ दशमलव २ मेगावाट विद्युत्समेत उत्पादन नहुँदा डे«जर मेशिन पनि पूर्ण बन्द भएका छन् ।

जर्मन प्रविधिका महँगो विद्युत् उत्पादन उपकरण सञ्चालनमा लागि चाहिने उपकरण आपूर्तिमा पनि लामो समय लाग्ने र मर्मत खर्चसमेत निकै महँगो पर्ने भएकाले चतराको विद्युत् उत्पादन गृह सजिलै सञ्चालनमा आउन सक्ने सम्भावना कम रहेको बताए ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्