Logo
६ बैशाख २०८१, बिहीबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षकलाई पारिश्रमिक दिन विद्यालयको जमिन भाडामा दिँदै

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय निजी स्रोतका शिक्षकलाई पारिश्रमिक दिन विद्यालयको जमिन भाडामा दिँदै आएको छ । विसं २०२८ मा स्थापना भएको राष्ट्रिय माविलाई पछिल्ला वर्षमा शिक्षकलाई पारिश्रमिक दिन धौधौ परिरहेको छ । सात जना निजी स्रोतबाट शिक्षक राखेर अध्यापन गराउनु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरजन साउदले बताए ।

“प्राविमा तीन जना स्थायी र निमावि तथा माविमा एक–दुई जना राहतका शिक्षक छन् ।” अध्यक्ष साउदले भने– “निजी स्रोतका शिक्षक नराख्ने हो भने अध्यापन नै प्रभावित हुन्छ ।” पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयले आफूसित भएको साता बिघा जमिन ठेक्कामा दिएर शिक्षकलाई पारिश्रमिक दिँदै आइरहेको छ । “जमिन तीन वर्षको रु दुई लाख ७६ हजारमा ठेक्कामा दिएका छौँ ।” अध्यक्ष साउदले भने– “ठेक्काबाट आएको रकमसमेत तलब दिन सकिरहेका छैनौँ ।”

पछिल्लो आठ महिनायता निजी स्रोतका शिक्षकलाई पारिश्रमिक दिन नसकेको विद्यालय प्रशासनले जनाएको छ । “रु पाँच लाख जति विद्यालयलाई ऋण छ ।” साउँदले भने– “शिक्षकलाई पारिश्रमिकका लागि अनेक बहानामा पन्छ्याउनु परेको छ ।” प्याराताल छेउमा रहेको विद्यालयको सात बिघा जमिनमा भारतले हस्तक्षेप गर्न खोजीरहेको अध्यक्ष साउदले बताए ।

“स्कूलको जमिन पनि भारतीय पक्षले सिमानामा पर्ने भन्दै हस्तक्षेप गर्न खोजी रहेको छ ।” उनले भने । जिल्ला शिक्षा कार्यालयबाट प्राप्त हुने अनुदान रकमसमेत वितरण रोकिँदा आर्थिक समस्या भएको हो । “समस्या त पहिलेदेखि नै थियो,” साउदले भने– “जिल्लाबाट अनुदान रोकिँदा झन समस्या भएको छ ।”

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्