Logo
१५ चैत्र २०८०, बिहीबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२५ लाखको लागतमा चलचित्र ‘घ्रान’(कसम) निर्माण हुँदै

काठमाडौँ : तामाङ जातिको संस्कृति तथा भाषा संरक्षण गर्ने उद्देश्यले तामाङ भाषामा चलचित्र घ्रान ‘कसम’ निर्माण गरिने भएको छ ।

मोक्तान फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण गरिने चलचित्रले समाजमा प्रजातान्त्रिक प्रणाली विकास गर्ने क्रममा सामन्ति वर्गसँगको संघर्ष, वर्ग संघर्षका क्रममा एउटा परिवारको अभिभावकले ज्यान गुमाउन परेको, त्यसपछि उनका सन्ततिले समाजमा समानता, सामाजिक न्याय र प्रजातन्त्रको स्थापनाका लागि निर्वाह गरेको भूमिकाका बारे कथा समावेश गरिएको छ ।

तामाङ समुदायको संस्कृति र सामाजिक जीवनयापनका कथामा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्र ओखलढुंगाका विभिन्न स्थानमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा नायक सागर घिसिङ तथा नायिका सुकुमाया मोक्तान हुन भने कलाकार शम्भु घिसिङ, विकास तामाङ, राम घिसिङ, सुष्मा मोक्तान, सुनिता तामाङ हुन उक्त चलचित्र करिब रु २५ लाखको लागतमा निर्माण सम्पन्न गरिने छ ।

बिहीबार पत्रकार सम्मेलनमा चलचित्रका लागि निर्माण गरिएको गीत सार्वजनिक गरिएको थियो । कुमार स्याङ्बोको शब्द, निमा दोङको संगीत तथा निर्मला घिसिङ र निमा दोङको स्वर रहेको गीतको बोल ‘सारी आरे मुरी आरे ह्यांला राङ्बा माया’ रहेको थियो भने निर्देशक नवीन सुब्बाले स्थानीय तहदेखि नै सरकारले स्थानीय भाषाको संरक्षणमा कार्यक्रम गर्नुपर्नेमा जोड दिँदै मुलुकमा सबै समुदायको संस्कृति जगेर्ना गर्न चलचित्र सशक्त माध्यम भएको बताए ।

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले तामाङ समुदायको जीवन चक्रमा आधारित रहेर निर्माण गरिएको चलचित्र सबै भाषा भाषीका समुदायले हेर्ने खालको भएमा त्यसको बजार विस्तारमा सक्दो सहयोग गर्ने र समाजसेवी टीका शेर्पाले नेपालमा रहेका सबै जातजाति र धर्म सम्प्रदायबीचको भाषा, वेशभूषा, संस्कृतिको विकासमा सरकारले लगानी बढाउनुपर्ने विचार व्यक्त गरे ।

मोक्तान फिल्मस् प्रालिका अध्यक्ष सुकुमाया मोक्तानले विभिन्न मातृभाषाका चलचित्रको विकासमा सरकारले भूमिका निर्वाह गरेमा नेपाली चलचित्र उद्योग सम्पन्न हुने बताए ।

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्