Logo
७ बैशाख २०८१, शुक्रबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गिरिजाको योजनामा अपहरण भएको ४१ वर्षे ऐतिहासिक जहाजको संग्रहालय प्रस्थान

काठमाडौं : उपत्यकाको उत्तर–पूर्वी कुनामा रहेको बीपी संग्रहालय, सुन्दरीजलमा ऐतिहासिक जहाज ‘९ एन एबीबी ट्वीनअटर’ को ‘बडी’ भित्रिएपछि संग्रहालयका अध्यक्ष परशुराम पोखरेल दङ्ग छन् । ‘निरंकुशतन्त्र पञ्चायतविरूद्ध २८ जेठ २०३० मा कांग्रेस कार्यकर्ताले अपहरण गरेको यो जहाजको अवशेष यहाँ ल्याएर चिरिच्याट्ट पारिएको छ,’ अध्यक्ष पोखरेलले भने, ‘४१ वर्षसम्म नेपाली आकाशमा उडेको यो जहाज अब सर्वसाधारणले पनि हेर्न पाउनेछन् ।’  संयोग कस्तो परेछ भने नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाले जेलजीवन बिताएको सुन्दरीजल बन्दीगृह, जसलाई अहिले संग्रहालय बनाइएको छ, त्यसैमा उनैको दलले अपहरण गरेको जहाज भित्रिएको छ । बीपी फागुन २०१७ देखि २५ कात्र्तिक ०२५ सम्म यहाँ बन्दी थिए ।

उनै बीपीको नेतृत्वमा प्रजातन्त्र पुनस्र्थापनाका लागि २०१८ सालदेखि भएको ‘सशस्त्र क्रान्ति’ को क्रममा दक्षिण एसीयामै पहिलोपटक जहाज अपहरण भयो । २८ जेठ २०३० मा गिरिजाप्रसाद कोइरालाको योजनामा तत्कालीन शाही नेपाल वायुसेवा निगमको सोही विमान अपहरण भयो । कांग्रेसले पञ्चायतविरूद्ध चलाएको  सशस्त्र क्रान्तिका लागि रकम जुटाउन भन्दै जहाज अपहरण गरेर भारतको फारबिसगन्ज पु¥याइएको थियो । अहिले मुलुकमा ‘लोकतान्त्रिक गणतन्त्र’ स्थापना भइसकेको छ, ती दुबै नेता बिदा भइसकेका छन् । तर, बीपीले जेलजीवन बिताएको सुन्दरीजलसँग ‘९ एन एबीबी ट्वीनअटर’ जहाजको सम्बन्ध निरन्तर छ ।

बीपीसहितलाई कैद गर्न गृहबन्दी बनाइएको तत्कालीन सुन्दरीजल सैनिक ब्यारेक २४ भदौ २०६१ ‘बीपी संग्रहालय’का रूपमा घोषणा भयो । प्रजातन्त्र पुनस्र्थापनाका लागि अपहरण गरिएको भनिएको जहाज अहिले सोही संग्रहालयमा पुगेको छ, इतिहास बन्न । १ पुस २०१७ मा तत्कालीन राजा महेन्द्र शाहले ‘कू’ मार्फत् प्रजातन्त्रको हत्या गरेर बीपीलाई अपदस्थ मात्र गरेरनन्, सुन्दरीजल आर्सनलका प्रमुख बस्ने सरकारी निवासलाई सैनिक जेल बनाइदिए । त्यतिखेर बिपीसँगै तत्कालिन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र, प्रेमराज आङदेम्बे र सहायक मन्त्री दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरूङले ८ वर्षसम्म सुन्दरीजल सैनिक जेलमै बन्दी जीवन बिताएका थिए ।

यो एेतिहासिक जहाजले गणतन्त्र स्थापनापछि नेपाल वायुसेवाको नामबाट उडान भरिरहेकोे थियो, कलसाइन नाइन एन एबीबीको ट्विनेटरकै नामै(फाइल तस्बिर)

जेलमुक्त भएपछि बीपी भारत प्रवासमा थिए । २८ जेठ २०३० बिहान सवा ७ बजे गिरिजाप्रसादको योजनामा ‘९ एन एबीबी ट्वीनअटर’ जहाज अपहरण गरेर फारबिसगन्ज पु¥याउँदा दुर्गा सुवेदीले कमाण्ड सम्हालेका थिए, साथमा वसन्त भट्टराई,  नगेन्द्र ढुंगेल पनि थिए । पत्रकार जगत नेपालको ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्रमा सुवेदीले भनेका छन्, ‘राष्ट्र बैंक विराटनगर शाखाबाट काठमाडौं ल्याउँदै गरेको भारू ३० लाखसहित विमान अपहरण गरी भारतको फारबिसगञ्जमा अवरतरण गराएका थियौं ।’ सोही काण्डमा सुशील कोइराला ३ वर्ष भारतीय जेलमा बसेका थिए ।
हाल श्री एयरलाइन्सका अपरेसन डाइरेक्टर रहेका क्याप्टेन कुन्धन गिरी भन्छन्, ‘९ एन एबीबी ट्वीनअटर पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुला हुँदै हुम्ला र रोल्पासम्म उड्यो । त्यतिखेर प्रायः सबै क्याप्टेनले उडाए ।’

४ फागुन २०७० मा अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनाग्रस्त कलसाइन नाइन एन एबीबीको ट्विनेटर जहाज । (फाइल तस्बिर)

१९८१ देखि १९८९ सम्म ‘९ एन एबीबी ट्वीनअटर’ विमान उडाएको अनुभव संगालेका गिरी भन्छन्, ‘त्यस्तो कुनै क्षण छैन, नर्मल्ली नै हो ।’ त्यसअघि श्रीदेव वैद्यका छोरा सञ्जय वैद्यले पनि यो विमान उडाएका थिए । नेपाल एयरलाइन्सका प्रवक्ता वीरेन्द्र श्रेष्ठ भन्छन्, ‘९ एन एबीबी ट्वीनअटर’ विमान ४१ वर्ष नेपाली आकाशमा उडेको रहेछ, यो सबल पक्ष हो ।’ २०३० मा विमान अपहरण गर्दा सुशील कोइरालाको पनि संलग्नता रहेको थियो, संयोग नै भन्नुपर्छ २०७० मा विमान दुर्घटना हुँदा पनि सुशील नै प्रधानमन्त्री थिए ।

‘९ एन एबीबी ट्वीनअटर’ विमान त्यसअघि २१ असार ०४९ जुम्लामै धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएको थियो । त्यो दिन पनि आइतबार नै थियो । त्यतिबेला विमानमा सवार सबै सकुशल रहे ।  निगमले उक्त विमान मर्मत गरेर पुनः उडान भरेको थियो । क्यानडेली विमान कम्पनीले उक्त विमान ३ असार २०२८ मा काठमाडौंंमा डेलिभरी गरिदिएको थियो ।  त्यसबेला निरन्तर निगमको सेवा गर्दै आएको थियो । विमान अपहरणमा पर्दा आरके मानन्धर क्याप्टेन थिए ।  श्रीदेव वैद्य को–क्याप्टेन, अनि जीबी राई सहयोगी । ४ महिला, १ बच्चा र ९ पुरूष यात्रु थिए । वैद्यले एउटाले आफूलाई समातेको र अर्काले कञ्चटमा रिभल्वर तेस्र्याएको बताएका छन् । विराटनगरबाट उडेको २७ मिनेटमै विमान अपहरणमा परेर फेरि विराटनगर आइपुगेको थियो ।

गिरिजाप्रसादको ७ चैत २०६६  र सुशीलको २६ माघ २०७२ मा निधन भइसकेको छ ।  को–क्याप्टेन वैद्यको पनि निधन भइसकेको छ । ४१ वर्ष पुरानो इतिहास बोकेको ‘९ एन एबीबी ट्वीनअटर’ विमान आइतबार ४ फागुन २०७० मा अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनामा प¥यो । क्याप्टेन शंकर श्रेष्ठसहित  चालक दलका ३ सदस्य र १५ यात्रु गरी १८ जनाको ज्यान गएको थियो । नेपाली आकाशमा निरन्तर ४१ वर्ष उडेको विमान सदाका लागि ध्वस्त भयो ।

कलसाइन नाइन एन एबीबीको ऐतिहासिक ट्विनअटर जहाजको भग्नावशेष बीपी संग्रहालयमा ल्याएर बाहिरी भाग मर्मतसम्भार गरिँदै । तस्बिर : सरोज बस्नेत 

उता ‘९ एन एबीबी ट्वीनअटर’ विमान निरन्तर उडान भर्दै थियो । यता, २४ भदौ २०६१ ‘बीपी संग्रहालय’ का रूपमा घोषणा भयो । संग्रहालयका अध्यक्ष परशुराम पाखरेल संग्रहालयलाई राजनीति, साहित्य र दर्शनको त्रिवेणी धामका रूपमा स्थापित गर्ने अभियानमा जुटे ।  बीपीले जेलजीवन बिताउँदा लेखेका पुस्तकदेखि उनी भारत प्रवासमा रहेका बेला प्रयोग गरेका सामग्री जुटाउने अभियानमा लागे । संग्रहालयका अध्यक्ष पोखरेल सम्झन्छन्, ‘२०६२/०६३ को जन–आन्दोलनपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसादको नेतृत्वमा अन्तरिम सरकार बन्यो ।  त्यही बेला पोखरेल गिरिजाकहाँ पुगेका थिए, ‘९ एन एबीबी ट्वीनअटर एउटा इतिहास बोकेको विमान हो, यसलाई संग्रहालयमा राख्न पाए हुन्थ्यो’ भनेर ।

तत्कालै प्राप्त हुने अवस्था नभए पनि ‘भग्नावशेष’ भइसकेपछि बीपी संग्रहालयलाई प्रदान गरिने भनेर निर्णय होस् भन्ने चाहेका थिए, पोखरेलले । तर, गिरिजाले उनलाई ‘समय आउँछ’ भनेर फर्काइदिए । पाखरेल भन्छन्, ‘बडी ल्यांग्वेइज हेर्दा गिरिजाबाबु सकारात्मक हुनुहुन्थ्यो ।’  विराटनगरमा संघर्ष गर्दा बीपीले बनाएको रकेट र उनले लेखेका तथा अध्ययन गरेका पुस्तक त्यसअघि ९ भाद्र ०७१ मा नै संग्रहालयले प्राप्त गरिसकेको थियो । बीपी कोइराला बनारसमा ८ वर्ष बसेका थिए । वैशाख ०६९ मा संस्कृति मन्त्रालयका पदाधिकारीसहित पोखरेलले बनारसबाट सामग्री ल्याएका थिए ।

भग्नावशेष विमान नेपालगञ्ज ल्याएर गोदाममा राखियो । संग्रहालयका अध्यक्ष पोखरेल फेरि दौडधूपमा लागे । प्रधानमन्त्री थिए, सुशील कोइराला । विमान प्राप्तिका लागि सरकारसँग लिखित अनुरोध गरियो । संरक्षक समेत रहेका कोइराला सकारात्मक भए पनि अर्काे अप्ठेरो आइलाग्यो– राष्ट्रिय बीमा कम्पनी । नेपाल एयरलाइन्सको सहमतिले मात्र काम नहुँदो रहेछ ।

क्यानडामा रहेको म्याक्लर्सको अनुमति चाहिँदो रहेछ । संसारका उदाहारण हेर्दा कुनै कालखण्डका ऐतिहासिक वस्तुको लिलामीसमेत हुने गर्छ । पोखरेलको मनमा डर पैदा नभएको होइन– कतै क्यानडियन कम्पनीले ‘लिलामी’ मा राख्ने त होइन, उक्त विमान ! ‘विमानको पूरै भग्नावशेष नपाए पनि एउटा टुक्रासम्म पाएको भए हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनी सम्झन्छन् ।

विमान प्राप्तिको टुंगो लगाउन २ वर्ष लाग्यो । पोखरेलका अनुसार ३ मे २०१६ मा नेपाल सरकार, क्यानडियन कम्पनी र संग्रहालयबीच विमान प्राप्तिका लागि त्रिपक्षीय सम्झौता भयो । उक्त भग्नावशेष विमानको स्वामित्व सम्झौता १ डलर मा भयो । ‘शून्य भन्दामाथि एउटा अंकमा भए पनि रकम लिनुप¥यो भनेर अनुग्रह गरेपछि सहमत हुनु भएको हो, उहाँहरू नै निःशुल्क नै भन्दै हुनुहुन्थ्यो,’ उनले भने ।

क्षतविक्षत विमानको अवशेष ७ जेठ २०७३ मा ट्रकमा हालेर काठमाडौं ल्याइयो । दुर्घटनामा टुक्राटुक्रा भएको ‘९ एन एबीबी ट्वीनअटर’ विमानले अहिले स्वरूप फेरेको छ । दुरूस्तै बनेको छ, भलै अब उडान भर्न सक्नेछैन । फलामको पाइपको फ्रेम बनाइएको छ, अनि पंखा पनि जडान गरिएको छ ।

पोखरेल भन्छन्, ‘पहिलेकै स्वरूपमा बनाउन गाह्रो हुँदो रहेछ, तैपनि  इतिहासलाई जीवित बनाएका छौं ।’ ट्रकमा बिपी संग्रहालयमा ल्याएर विमानको बाहिरी भाग मर्मत–सम्भार गरी आगामी २०७५ साल देखि सर्वसाधारणका लागि हेर्ने व्यवस्था मिलाउने बिपी संग्रहालयले जनाएको छ ।

२०७५ को सुरूवातमै सबैले हेर्न पाउनेछन् । पंखासम्म घुम्ने बनाउने तयारी संग्रहालयले गरेको छ । विमानको स्वरूपमै तयार हुनेछ । सिट सबै रहन्छ । पाइलट सिटसहित राखिनेछ । विमानमा छिर्न पाइनेछ । विमान अपहरण गर्नुको उद्देश्य, कसले किन गरेको भन्ने स्क्रीनमा देख्न पाउनेगरी तयारी भएको छ । ‘इतिहासलाई त्यसको अवषेशमा उभिएर स्क्रिनमा देखाउने तयारी भएको छ,’ पोखरेल थप्छन्, ‘१ महिनामै पुनर्निर्माण हुनेछ ।’

कांग्रेसको इतिहासलाई सचित्र बनाउन र पछिल्लो पुस्तालाई चिनाउन जेललाई बीपी संग्रहालय बनाइयो । रकेट पनि छ । जेलजीवन कस्तो थियो ? प्रजातन्त्र केका लागि चाहिएको थियो ? भन्ने पनि बुझ्नेगरी राख्ने तयारी भएको छ । ‘४७ लाख लागतमा विमानको पुनर्निर्माण हुनेछ । व्यक्तिको नाम र बायोग्राफीसँग जोडिएको संग्रहालय कहिलै पूर्ण त हुँदैन तर यो प्रयत्न जारी रहनेछ,’ पोखरेलले भने । जनता पोष्टबाट

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्