Logo
७ बैशाख २०८१, शुक्रबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा राष्ट्रपतिद्धारा एकीकृत नमूना बस्ती हस्तान्तरण

रौतहट : राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई हस्तान्तरण गरेको छ ।

राष्ट्रपति भण्डारीले चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताए ।

राष्ट्रपति भण्डारीले भनिन, “देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गरेको छ, यो एकदमै अतुलनीय छ” । प्रदेश नंं २ मा विकासका धेरै आधार भएकाले सरकारले स्रोत र साधनलाई उपयोग गर्नुपर्नेमा जोड दिए ।

फाउण्डेशनले बस्ती निर्माण गरेर समतामूलक समाज निर्माणका लागि कल्याणकारी कामको अनुपम उदाहरण दिएको उनले बताए । कलाकारको प्रयासबाट यस्तो नमुना बस्ती बनेकामा आफू गौरवान्वित भएको बताउँदै राष्ट्रपतिले सामुदायिक हितका लागि यस्ता काम सरकारले गर्नुपर्छ भने ।

लोककल्याणकारी राज्यले जनताका आधारभूत आवश्यकता पूरा गर्न ध्यान दिनुपर्नेमा जोड दिँदै उनले सभ्य र न्यायपूर्ण समाजका लागि जनसमुदायमा यस्ता खालका कार्यक्रम लैजानुपर्ने बताए । राष्ट्रपति भण्डारीले सरकारले विद्यालय जानबाट वञ्चित बालबालिकालाई विद्यालयमा ल्याउने प्रयास गर्नुपर्ने बताउँदै रौतहटलाई कृषिको भण्डारका रुपमा समेत विकास गर्न आग्रह गरे

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले समृद्ध नेपाल विकासका लागि धुर्मुुस–सुन्तलीको काम ठूलो उदाहरण भएको बताए । हास्य कलाकार महजोडीले पनि नमूना बस्तीको खुलेर प्रशंसा गरे । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले सो बस्ती निर्माण सबै सहयोगी हातबाट भएको बताए ।

कलाकार कट्टेल र कुञ्जना घिमिरेद्वयको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण भएको छ । गत असोज ४ गते शिलान्यास भएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकनस्तम्भ निर्माण भएका छन् ।

गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारका घर डुबानमा परेको थियो । करिब रु पाँच करोड ९५ लाखको लागतमा निर्मित सो बस्ती निर्माणमा कलाकार कट्टेल दिनरात आफैँ खटेका थियो । सो बस्ती विकलांगमैत्री, बालमैत्री, वातावरणमैत्री भएको कट्टेलले बताए ।

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्