Logo
१३ बैशाख २०८१, बिहीबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नमुना प्रदेश बनाउने प्रतिबद्धता सहित सकियो प्रदेश ४ को बैठक

पोखरा : प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक सम्पन्न भएको छ । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ बजे सुरु भएको बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने निर्णयसहित अन्तरिम कार्यविधि पास गरेको हो ।

पाँच वटा दलको प्रतिनिधित्व रहेको प्रदेश ४ मा ११ जना सांसदहरुले आफ्नो धारणा राखेका थिए । बैठकलाई सम्बोधन गर्ने क्रममा सांसदहरुले सहमति र सहकार्यबाट नै प्रदेश ४ लाई नमुना प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गरेका थिए ।  शहीदहरुप्रति सम्मान गर्दै सुरु भएको आजको बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुख बाबुराम कुँवरले संसद् बैठक आह्वान गरेको सूचना पढेर सुनाएका थिए । बैठकले सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने ५ जनाको अध्यक्षमण्डल समेत चयन गरेको छ ।

यस प्रदेशमा ११ जिल्लाबाट ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद छन् । एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद रहेका छन् ।

प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १ (ख) बाट निर्वाचित राजिव गुरुङले भने हालसम्म शपथ लिएका छैनन् ।बैठकमा सहभागी हुन प्रदेशसभा सदस्यहरू निर्धारित गरिएको पोशाकअनुसार नै पुरुष सदस्य दौरासुरुवाल, सुटपाइन्ट एवं महिला सदस्य साडी चोलोमा उपस्थित भएका थिए ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्