Logo
७ बैशाख २०८१, शुक्रबार
(February 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आँसुमै टिकेको छ नेपाली साहित्य

मान्छेभित्र सुखदुःखका अनुभूति विद्यमान हुन्छन् । एक्लै हुँदा मात्रै मान्छेले दुःख र आँसु देखाउन चाहन्छ । कला, साहित्य र संगीतमा प्राय मान्छे आकर्षित हुनुको कारण पनि यही हो । आँसु पनि बिक्दो रहेछ ! कला, साहित्य र संगीतको संसारकै ट्रेन्ड हेर्दा सुखान्तभन्दा दुःखान्त सिर्जना बढी लोकप्रिय भएको दृष्टान्त पाइन्छन् । कला, साहित्य, सिनेमा र संगीतमा आँसुको व्यापार अर्थात् कारोबार राम्रैसँग फस्टाएको छ ।

आँसु र संवेदना
आँसु केवल ‘मान्छे’ र ‘साहित्य’को मात्र विषय वस्तु होइन । यो त चराचर प्राणी जगत्मा रहने सबै जीव जन्तुको साझा विशेषता हो । कसैले बनावटी आँसु प्रदर्शन गरेको देखियो भने भनिन्छ, ‘कस्तो गोही आँसु देखाएको ?’ न्याउली करायो भनिँदैन रोयो भनिन्छ । कुकुर पनि रोएको सुनिन्छ । बस्तुभाउ, बाख्रा, चराका आँखाले पनि आँसु बगाउँछ । यसरी हेर्दा आँसुको सम्बन्ध ‘संवेदना’सँग रहन्छ । झन् मान्छे हुनु त सर्वश्रेष्ठ प्राणी हुनु हो । त्यसकारण ‘रुनु’लाई आश्चर्य मान्नुपर्ने कारणै छैन । रोएपछि संवेदना पखालिन्छ । त्यो आँसुको रुपमा आँखाबाट बाहिर निस्कन्छ ।

कवि लेखक आम मानिसभन्दा प्राय बढी भावुक हुन्छन् । त्यही भावुकताको कलात्मक अभिव्यक्ति नै साहित्य हो । कवि श्यामल भन्छन्, ‘पोयट्री इज ब्युटिफुल एक्जाक्जरेसन ।’ उनको भनाइलाई मान्ने हो भने कविता अथवा साहित्य हुनलाई जीवनलाई ‘लार्जर देन लाइफ’ बनाउनै पर्छ । ‘हुबहु व्यक्त गरियो भने त त्यो समाचार हो र अर्थात् घटना विवरण । घटनाहरुको हुबहु प्रस्तुति त पत्रकारिता हो,’ मनु मञ्जिल भन्छन्, ‘यसरी आउने घटनामा ‘संवेदना’ र ‘ध्वनि’ थपिएपछि मात्रै साहित्य हुन्छ । संवेदनाविनाको साहित्य अखबारजस्तै हो ।’

नेपाली साहित्यमा आँसु साहित्यले अन्य साहित्यलाई छायामा पारेको छ भन्ने चर्चा चलिरहन्छ । आँसु मानवीय संवेदनाको ‘बाइप्रोडक्ट’ हो भन्ने कुरामा खासै बहस गरिरहनुपर्दैन । आँसु नआउने मान्छे सायदै होलान् । आफ्नै शरीरबाट निस्किने आँसुप्रति घृणा गर्छौं हामी ? र आँसु बेचेको आरोपमा लेखकलाई कठघरामा उभ्याउन थाल्छौँ । यो बहसको फरक पाटो हो । किन कि साहित्य र कला संवेदनाको कलात्मक रूप हो । अर्थात्, जीवनको कलात्मक चित्रण ।

आँसुको मात्रा
नेपाली साहित्यमा आज आएर मात्रै आँसु साहित्य लेखिएको होइन । पहिलो किताबको ‘जस’ बोकेर बाँचिरहेको भानुभक्तको रामायणबाट ‘संवेदना’ झिकिदिने हो भने त्यो साहित्य रहँदैन । तर, त्यहाँ आँसु वा संवेदना मात्रै छैन । लंकाको समृद्धिको कथा पनि छ । परिवारभित्रको झगडा छ, प्रेमी–प्रेमिकाको विछोडको कुरा छ । बहुविवाहका दुष्परिणतिरको कुरा पनि छ । यसमा ‘धन’ र ‘मान’ प्राप्तिको कुरा छ । तर, रामायणका यी कुरा कसैले पनि सम्झिँदैनन् । किनभने आँसु र दुःख मान्छेले पछिसम्म सम्झिरहन्छ, सुखका कुरा मान्छेले चाँडै बिर्सिन्छ । सायद रामायणको ‘सिर्जनशीलता’ र ‘जीवन’ पाठकले चाँडै बिर्सिनुको पछाडिको कारण पनि यही हो ।

‘मुनामदन’लाई नेपाली साहित्यकै सर्वाधिक बिक्री भएको किताब मानिन्छ । मुनामदनलाई पनि आँसुको वर्णन भनेको पाइन्छ । ‘मुनामदन आँसुको कथा मात्रै होइन । यसमा तत्कालीन नेपालको परिवारको कथा पनि छ । हाम्रा पुर्खाले बाँचेको जीवनको अंश छ । काम र मामको खोजीमा मातृभूमि छोड्न विवश निम्न वर्गीय मानिसको जीवनवृत्ति छ । लेखकको काम भनेको तत्कालीन समाज र समयको आधारमा ‘मान्छेका कथा’ उतार्नु हो,’ प्राध्यापक लक्ष्मण गौतम भन्छन् ।

नेपाली समाजको विकास युरोप अमेरिकाको गतिमा भएको छैन । आजभन्दा सय–दुई सय वर्षअघि पश्चिमी समाज भएको ठाउँमा बल्ल पुग्दैछ हाम्रो नेपाली समाज । ‘पछौटे’ समाजको कथामा ‘आदर्श’का कुरा गरेर मात्र परिवर्तन सम्भव छैन । नासो, मुनामदन, माइतघर, सेतो धरती, राधा, गौरी त्यही पछौटेपनको कछुवा यात्रा निदाइरहेको समाजका कथा हुन् । यिनमा समाजमाथि व्यंग्य पनि उत्तिकै मुखर भएर आएको कुरा पनि बिर्सनु हुँदैन ।

जनजीवनका कथामा भएका दुःख उतार्दा पाठक विरेचित हुन्छ र आँसु झर्छ । त्यसमा लेखकको नियत पाठक रुवाउने हुँदैन । कतिसम्म दुःख लेख्ने भन्ने कुनै मापदण्ड हुँदैन । पछिल्लो पुस्ताका चर्चित र सफल आख्यानकार बुद्धिसागर भन्छन्, ‘कहिलेसम्म र कति आँसु लेख्ने भन्ने न्यायाधीश को छ ? मलाई मान्छेका दुःखले छोएपछि लेख्छु ।’

आँसु र समय
निश्चित समयसम्म साहित्यमा एउटा परम्परा या युग रहन्छ । कुनै समय वीरताका कविता पनि लेखिए नेपाली साहित्यमा । तर समय क्रममा आदर्शको दबदबा रह्यो । अहिले यथार्थको युग छ र यथार्थ दुःखमय छ । राजनीतिक स्थायीत्व स्थीरता नहुनु नेपाली समाजको अभिशाप हो । यस्तो अभिषप्त समयमा लेखिने साहित्यमा आम मान्छेका दुःख आउनु नौलो कुरा होइन । हिजो राणा कालमा लेखिएको गुरुप्रसाद मैनालीको कथाको समय र आजको समयमा ‘क्यालेन्डर’ त अवश्यै फेरिएको छ तर हामी आम मान्छेले बाँच्ने ‘जीवन’ फेरिएको छैन, उस्तै छ । शाषनको पद्धति मात्रै फेरिएको छ, शाषितको स्थान उही ‘रैति’कै छ । नयनराज पाण्डेले ‘उलार’ लेख्दा देखेको समाज लेखेका हुन् । ‘उलार’ पढेर पाठक द्रविभूत हुनु लेखकको ‘नियत’को दोष होइन, हाम्रो जीवनको ‘
नियति’को दोष हो ।

भनिन्छ, साहित्य समाजको ऐना हो । हाम्रो साहित्यमा देखिएको ‘रोनाधोना’ कालोपत्रे सडकमा देखिएको ‘मृगातृष्णा’ झैँ देखिँदै हराउँदै गर्ने भुलभुलैया होइन । यो त दैनिकको ‘अभावग्रस्त जीवन’ र ‘अव्यवहारिक नेतृत्व’को कारण कष्टकर जीवन बाँचिरहेका ‘भुइँ मान्छे’को जीवन हो । समय, गरीबी र अभावले चारैतिरबाट कोपर्न थालेपछि मान्छे ‘हाँस्’ भनेको भरमा हाँस्न सक्दैन । ती हाँस्न नसकेका मान्छेका कथा लेख्नु रुन्चे साहित्य लेख्नु कदापि होइन । पेट दाम्रिन र आन्द्रा चाम्रिन थालेपछि आँसु लुकाउने ठाउँ कतै हुँदैन । यसरी तमाम भोक र सकसमा बाँचेका मान्छेको कुरा लेख्दा आँसु स्वभाविकरूपमा आउँछ ।

आँसु र जीवन
रुनु कमजोर हुनु होइन । मनका क्लेष पखालेर आनन्दित भइन्छ रुँदा । आँसु जीवनको एक महत्वपूर्ण अंग पनि हो । हामीले नचाहेर पनि रोइरहेका हुन्छौँ । बुद्धिसागर भन्छन्, ‘म रुँदै पढेँ भन्दै फोन गर्छन् पाठकले । तर, उनीहरु ‘क्वाँ–क्वाँ’ गर्दै रोएका हुँदैनन् ।’ पाठकले बिताबमा आफैँलाई पायो भने वा आफ्नै जीवनको छाया पायो भने लेखक सफल भएको मानिन्छ । ‘शिरीषको फूल’ पढेर महिलाहरू रोलान्, ‘कर्नाली ब्लुज’ पढेर पुरुष रोलान् । आफ्नो जीवनको नजिकबाट बगेको विषयमा पाठक रुनु भनेको लेखन जीवनको नजिक भएर बग्नु हो । त्यतिखेरको रोदन केवल लेखकको मात्र भनेर बुझ्नु भएन, जीवनको रोदन हो, समाजको रोदन हो ।

हिजोका रूपमति, माइतघर र मुनामदन हुन् या आजका छाउघर, ऐलानी र कल्ली । यी जीवनसँग जोडिएका साहित्य हुन् । यी जीवन हुन् र समाजका साहित्य हुन् । ‘आँसु–साहित्य’को रूपमा चित्रित गरिनु संयोग मात्र हो । नेपाली समाजमा आज पनि महिलाले ‘दोस्रो दर्जाकै नागरिक’को जीवन बाँचिरेको छन् भनेर लेख्दा कुनै पनि लेखकले हर्षानुभूत गर्न सक्दैन ।

जीवनको अर्को पाटो पनि छ, व्यक्तिगत जीवनको । सामाजिक जीवनको पछि दौडिँदादौडिँदै छुटेको यो ऐकान्तिक ‘अंश’मा मान्छे सिनेमा हेरर, साहित्य पढेर र संगीत सुनेर आफूलाई हराउन चाहान्छ । सायद ‘लेखन’ र ‘पठन’को अवधिमा मान्छेले आफैँभित्र अलग जीवन भोगिरहेको हुन्छ, बाँचिरहेको हुन्छ । त्यस बेला उसले एकान्त र आफ्नो असली रुप खोज्छ । संवेदित भएपछि रुन्छ मान्छे रुन्छु भनेर रुँदैन । त्यसैले आँसु र दुखका बारेमा लेखिएका साहित्य पनि जीवन नै हुन्, जुन पढेर भन्न सकिन्छ– यस्तो पनि जीवन छ ।

आँसु र हाँसोको परिभाषा पनि ‘अनुकूल’ हुन्छ होला । त्यसैले त महिला पात्रले दुःख पाउँदा रुने तर पुरुष पात्रले दुःख पाउँदा नरुने कारण सायद त्यही हो । चपाइएका अनुहार पढेर को रुँदैन र ? तर, रोएँ भन्दैन ।

आँसु र हाँसो
आँसु र हाँसो जीवनका दुई पाटा हुन् । प्रायः साहित्यमा यी दुवै कुराको बराबरी चित्रण गर्नु नै लेखकको खास उद्देश्य हुन्छ । जोखेर नापेर ‘फिप्टी–फिप्टी’ नै बनाउन त सम्भव पनि हुँदैन । जरुरी पनि छैन । विजय मल्लको ‘अनुराधा’ रिमालको ‘मसान’, पारिजातको ‘परिभाषित आँखाहरू’को उद्देश्य आँसुको खोलो बगाउनु होइन । तर यी किताब पढ्ने मान्छेले त्यहाँ आँसु र हाँसो दुवै भेट्छ ।

माधवी, चिरहरण, राधा पढेर रोएँ भन्ने मान्छेले ‘द्वन्द्वको अवशान’ पढेर रोएँ भनेको सुनिन्न । सेतो धरती र अनुराधा र तीन घुम्ती पढेर रोएँ भनेको सुनिन्न । आँसु र हाँसोको परिभाषा पनि ‘अनुकूल’ हुन्छ होला । महिला पात्रले दुःख पाउँदा रुने तर पुरुष पात्रले दुःख पाउँदा नरुने कारण सायद त्यही होला सायद । चपाइएका अनुहार पढेर को रुँदैन र ? तर, रोएँ भन्दैन । नरेन्द्र दाइ दुःखको गर्तमा जीवन खोजिएको उपन्यास हो, नरेन्द्र दाइ पढेर कोही रोएँ भन्दैनन् । राजेश्वरीमा बाँच्ने अधिकार हनन गर्नेमाथि प्रश्न गरिएको छ, यस्तो गम्भीर किताब पढेर फेरि किन रुन्छ मान्छे ? कुनै पनि किताबमा शतप्रतिशत आँसु वा हाँसोको कुरा नहोला । ‘थाङ्ला’ नाटक सरुभक्तले दुःख देखाउँदा चल्छ भनेर लेखेका होइनन् । ‘प्रेम यौन लेख्नेले पनि चल्छ भनेर लेख्ने होइन,’ सरुभक्त भन्छन्, ‘जुन समाजको कथा भन्छौँ, त्यो समाजका मान्छेका जीवनको सुखदुःख लेख्ने हो । मैले थाङ्लामा सामाजिक संघर्ष देखाएको हुँ, दुःख वा आँसु देखाएको होइन ।’

आँसु र विद्रोह
उँचनिचको भावनाले जन्माउने विभेदविरुद्ध पहिलो असन्तोष आँसु हो । सामाजिक जीवनका यस्ता उँचनिचमाथि प्राय सबै लेखक सचेत हुन्छन् । अहिलेको नेपाली समाजको चरित्रअनुसार निर्धो बलियोमाथि ‘हाबी’ हुन सक्ने अवस्था छैन भन्ने एकथरी लेखक/आलोचकको जिकिर छ । अर्काथरी लेखक÷आलोचकले ‘टेक्स्ट’मा लेखकको भूमिका र ‘कन्टेन्ट’मा ‘म्यासेज’ खोजेको पाइन्छ । अहिलेको बहसको खास चुरो आँसु र विद्रोहलाई कुन स्थान दिइयो भन्ने मात्र हो । नेपाली समाज अहिले जुन संक्रमणमा छ, साहित्यले खोजेको पनि त्यही संक्रमणबाट निकास हो । राष्ट्रकवि माधव घिमिरे साहित्यभन्दा पनि समाज र राजनीति आँसुमय भएको कुरा गर्छन् । उनी भन्छन्, ‘नेपाली साहित्यको अहिलेको युग आँसुको युग हो हाम्रो पुस्ताले बाँचेको पनि त्यही हो ।’

आँसुको दर्शन
आँसुको र दुःखको सम्बन्ध होला तर आँसु र विद्रोहको सम्बन्ध भने छैन । जीवनभर दुःखैदुःख भोगेका मान्छे पनि विद्रोह नगरी बितेका छन् । अन्याय–अत्याचार र पीडापछि विद्रोह गर्न पनि पृष्ठभूमि तयार हुनुपर्छ । अहिले समाज व्यक्तिवादी भएपछि एक्लै हाँस्न र एक्लै रुन थाले । आजको समयले मान्छेलाई आँसु र हाँसोमा टुक्य्रायो । आँसुलाई पनि एक्लाएक्लै बनायो । आँसु र दःख वास्तवमै एकै होइनन्, उस्तैउस्तै मात्र हुन् । आँसुको समुच्चय हुँदैन । तर दुःखको समुच्चय हुन्छ ।

आख्यानकार नारायण ढकाल भन्छन्, ‘दुःखहरूको समुच्चयभित्रबाट उज्यालोको खोजी गरौँ भन्ने जमात आयो भने विद्रोह हुन सक्छ, अन्यथा आँसु बगेरै सिद्धिन्छ ।’ प्रेतकल्प र दुर्भिक्षजस्ता सफल आख्यान लेखिसकेका नारायण ढकालले ‘प्रेतकल्प’मा गाउँको नाम नै दुःखपुर राखेका छन् । यो दार्शनिक अर्थमा दुःखपुर हो । तर यहाँ पलायन छैन जीवनको खोजी छ । ‘प्रेतकल्पमा दुःख छ आँसु छैन,’ ढकाल भन्छन्, ‘पण्डित बालकृष्णले विद्रोहको चेतना यही समाजको रिफ्लेक्सनको रूपमा पाएको हो । त्यसैले साहित्यकारले ‘दुःखपुर’मा पनि बालकृष्णहरू जन्माउनुपर्छ । लेख्नु भनेको यथास्थितिमा सुधार खोज्नु हो । लेखकको जिम्मेवारी हो त्यो ।’

अर्का लेखक सरुभक्तले किताबको नाम प्रतिकात्मकरूपमा ‘पागल बस्ती’ राखे । लक्ष्मीप्रसाद देवकोटालगायतका संसारका महान् व्यत्तिलाई पनि पागल भनेको दृष्टान्त दिन्छन् सरुभक्त । आँसु छ कि हाँसो ? गहिरिएर बुझ्ने हो भने त्यहाँ आँसुमा जीवन खोजिएको हुन्छ । सरुभक्त भन्छन्, ‘पागलबस्ती रुन्चे किताब होइन । ‘पोजिटिभ भाइब्स’ दिने फरक दर्शनको किताब हो ।’ पागल बस्तीको फरक दर्शनले मानव समाजलाई अहिलेको अवस्थाबाट अगाडि लैजानुपर्छ भन्छ ।

फस्टाएको आँसुको कारोबार
भानुभक्तको रामायण पहिलो नेपाली प्रिन्टेड किताब हो । हिजोको ‘रामायण’देखि आजको ‘सगरमाथाको गहिराइ’सम्मको कविता परम्परामा ‘विचार’ बोकेका साहित्यको चर्चा कम नै हुने गरेको छ । पछिल्लो समय आएर नेपाली लेखकहरू पनि व्यवसायिक हुन थालेका छन् । पुस्तक बिक्रीको रोयल्टीबाट लेखक बाँच्न थालेका छन् । यसको उदाहरण बनेका छन्, अमर न्यौपाने र बुद्धिसागर । जसलाई आँसुको कारोबार गरेको आरोप लगाइन्छ ।

हातका औँलामा अटाउन सक्ने संख्यामा मात्र लेखक यसरी व्यवसायिक हुनुलाई सुखद मान्न सकिँदैन । सुविन भट्टराई, उपेन्द्र सुब्बा र राजन मुकारुङ पनि व्यवसायिक लेखनमा जम्ने क्रममा छन् । अन्यथा लेखन ‘रहरको खेती’ मात्रै हो । ‘ताली खाऊ चित्त बुझाऊ’को नियतीमा नेपाली लेखन गुज्रिरहेको छ । घरघडेरीको जोहोमा लाग्न सक्ने लेखकको सूचिमा अन्य नाम थप्न सक्ने अवस्था छैन । चर्चित र सफल लेखक भएर पनि नारायण ढकाल, नारायण वाग्ले, सरुभक्तजस्ता हस्ती लेखकले किताबको आम्दानीलाई ‘दशैँ पेश्की’का रुपमा चित्त बुझाउनु परेको यथार्थ कति लुकाउन खोजे पनि लुक्दैन । ‘पल्पसा क्याफे’को सफलतापछि आख्यान लेखनमा मजैसँग जम्ने नारायण वाग्लेको सपना पनि पुरा भएन । ‘मयूर टाइम्स’ले उनलाई लगातार सफल किताब दिने लेखकको रूपमा उभ्याउन सकेन ।

नयनराज पाण्डेको ‘लू’ पछिको यात्रा सहज रहेन । सुविन भट्टराईलाई यौन बेचेको आरोप लाग्छ । यस विषयमा बुद्धिसागरको तर्क घतलाग्दो छ । उनी भन्छन्, ‘कर्नाली ब्लुजलाई पनि गाली गर्छन् । हरिबहादूरलाई पनि गाली गर्छन् । हँसाउँदा पनि गाली गर्छन्, रुवाउँदा पनि गाली गर्छन् । खासमा ‘साइलेन्ट रिडर’ यी कुनै प्रतिक्रियाको वास्ता गर्दैनन् । आफूलाई मनपर्ने लेखकको किताब कहिले आउँछ भनेर कुरेर बस्छन् । गाली गर्ने भनेको केही समीक्षकले मात्रै हो । यो आँसु बेचेको आरोप पनि पाठकको होइन । तिनै समीक्षकको हो ।’

साहित्यमा यसरी दुःखको मात्रै चर्चा हुनु राम्रो कुरा पटक्कै होइन । जसलाई आँसु लेखेको आरोप लागेको छ उनीहरू आफ्नो लेखनलाई भन्दा बढी बिग्रे–भत्केको समाजव्यवस्था र राजनीतिलाई दोष दिन्छन् । ‘राजनीति सुध्रे समाज सुध्रिन्छ, समाज सुध्रे जीवन सुध्रिन्छ । गाली त तिनलाई गर्नुपर्ने हो जसले देश र जीवनलाई अस्तव्यस्त बनाए,’ कृष्ण धरावासी भन्छन्, ‘आँसु लेख्नु हाम्रो रहर होइन, बाध्यता हो ।’ जनतापोस्ट बाट

प्रकाशित मिति: Feb 3, 2018

प्रतिक्रिया दिनुहोस्