Logo
१३ बैशाख २०८१, बिहीबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुचारु, कार्यविधि तय

बुटवल : प्रदेशको अस्थायी केन्द्र तोकिएपछि रूपन्देहीमा प्रदेशका विभिन्न कार्यालय स्थापना हुने भवनको करिब टुंगो लागेका छन् । प्रदेश नं ५ मा सात मन्त्रालयका लागि भवन व्यवस्थापन करिब टुंगिएर आज मात्र प्रदेश नं ५ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भएको छ । जिल्लामा रहेका सरकारी भवनमध्येकै अत्याधुनिक छतले श्रम कार्यालयको भवनमा चार मन्त्रालय स्थापना गरिएका छन् ।

उक्त भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरिएको छ । उक्त भवनकोे चौथो र पाँचाँ तलामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बस्ने प्रमुख सचिव शंकर पाठकले जानकारी दिनुभयो । मुख्यमन्त्रीको कार्यालयमा प्रमुख सचिव, दुई सहसचिवसहित २१ कर्मचारी हुनेछन् । त्यस्तै मुख्यमन्त्रीको निवास राजश्व अनुसन्धानको भवन बुटवलमा व्यवस्थापन गरिएको प्रमुख सचिव पाठकले जानकारी दिनुभयो । मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालय रहनेछन् । यस्तै सामाजिक विकास मन्त्रालय सीप विकास तालीम केन्द्रको भवन रामनगरमा तथा भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्था कार्यालयको भवनमा राख्ने तयारी छ ।

कृषि तथा सहकारी मन्त्रालय भूमिगत जलस्रोत कार्यालय हाटबजारमा रहनेछ । मन्त्रालय व्यवस्थापनका लागि केही सचिवसमेत बुटवल आइसकेका छन् । रूपन्देही व्यापार संघको भवनमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ । हालसम्म निवासको व्यवस्थापन नहुँदा प्रदेश प्रमुख उमाकान्त झा र सचिव सनतकुमार दुवाडी सडक डिभिजन अतिथिगृहमा बसिरहनुभएको छ ।

सभामुख र छ मन्त्रीसहित केही कर्मचारीका लागि भैरहवास्थित भैलभुजको कार्यालयमा आवासको व्यवस्थापन गरिनेछ । प्रदेशको अस्थायी केन्द्र तोकिएपछि प्रदेशसभाका सदस्यलाई शपथ गराइएको बुटवल उद्योग वाणिज्य संघको सचिवालयलाई संसद् सचिवालयका रुपमा स्थापना गरी त्यहाँ रहेको सभागृहलाई प्रदेशसभा भवनका रुपमा अहिले धमाधम तयारी थालिएको छ ।

बैठकका लागि तोकिएको उक्त भवनलाई विभिन्न खण्डमा विभाजन गरिएको छ । त्यहाँ आवश्यक कुर्सी, टेबललगायत फर्निचर ल्याइएको छ । यस्तै उद्योग वाणिज्य संघको सचिवालय भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको छ । उक्त भवनको पहिलो तलामा सभामुख, उपसभामुख, प्रमुख सचिव र कर्मचारी कक्ष रहनेछन् । सभामुख र प्रमुख सचिवको कक्ष व्यवस्थापनको काम सकिएको छ ।

बैठकको कार्यविधि तय
प्रदेशको पहिलो बैठकको कार्यविधि आज सर्वदलीय बैठक बसेर तय गरिएको छ । कार्यव्यवस्था परामर्श समिति गठन भइनसकेकाले राष्ट्रिय पार्टीका स्थानीय नेतृत्वको सर्वदलीय बैठकले पहिलो बैठकका कार्यसूची तय गरेको प्रदेशका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकको प्रारम्भमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र पढेर सुनाइने कार्यसूची रहेको छ । यस्तै सभामुखको निर्वाचनका लागि यही माघ २७ गते उम्मेदवारी दर्ता र माघ २८ गते निर्वाचनको मिति तोक्नेसमेत कार्यसूची रहेको उहाँले जानकारी दिनुभयो । यससँगै पहिलो बैठकमा दलीय प्रतिनिधित्वका आधारमा प्रत्येकलाई १० मिनेट मन्तव्य राख्न दिइने जनाइएको छ ।

१५ मर्यादापालक
संसद्मा आन्तरिक मर्यादापालकको भूमिकामा नेपाल प्रहरीबाट १५ मर्यादापालक खटिएका छन् । प्रहरी निरीक्षक ओमप्रकाश चौधरीको नेतृत्वमा प्रहरीहरु मर्यादापालकका रुपमा खटिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताउनुभयो । उनीहरुलाई संघीय संसद्बाट आएको सहजीकरण टोलीले मर्यादापालकसम्बन्धी सहजीकरण गरेको छ ।

मर्यादापालकका लागि पुरुषलाई सेतो दौरासुरुवाल, कालोकोट र टोपी तथा महिलाका लागि साडी, चोलो र कालो कोटको पोशाक तय गरिएको बताइएको छ । संसद् अधिवेशनको सुरक्षाका लागि बाहिर करिब १५० प्रहरी खट्ने भएका छन् । सभाकक्षभित्र मर्यादापालक र बाहिरपट्टिको सुरक्षा जाँचमा प्रहरी नै रहनेछन् । (रासस)

प्रकाशित मिति: Feb 2, 2018

प्रतिक्रिया दिनुहोस्