Logo
७ बैशाख २०८१, शुक्रबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं १ को प्रथम अधिवेशनको माघ २२ हुने तयारी

विराटनगर : प्रदेश नं १को प्रथम अधिवेशनको तयारी भइरहेको छ ।  विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा सञ्चालन हुने प्रदेश सभा भवनको रङरोगन भई अब गलैँचा बिछ्याउने, कुर्सी, फर्निचर राख्नेलगायत आवश्यक प्राविधिक तयारी भइरहेको छ । शुक्रबारदेखि ती काम हुनेछन् । प्रदेश नं १ को प्रदेशसभा बैठक यही माघ २२ गते अपराह्न १ बजेदेखि शुरु हुनेछ ।

बैठक सञ्चालनको तयारीका साथै प्रदेशसभा सञ्चालनका सम्बन्धमा विस्तृत रुपमा जानकारी गराउनका लागि सङ्घीय संसद् सचिवालयका सहसचिव ध्रुव घिमिरेको नेतृत्वमा चार सदस्यीय टोली विराटनगर आइपुगेको छ ।
प्रदेशसभा भवनको पहिलो बैठकका सम्बन्धमा सहसचिव घिमिरेले प्रदेशसभाका सदस्य रहनुभएका दलका प्रतिनिधि राखेर शनिबार बैठक राख्ने सोचाइ रहेको जानकारी दिए । प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्य ओेमप्रकाश सरावगीसँग सो विषयमा छलफल भइरहेको छ ।

प्रदेशसभाको पहिलो बैठकमा तीन चार कार्यसूची हुनसक्ने जनाइएको छ । नियमावली अहिले बन्न नसक्ने भएकाले कार्यविधि पारित गरिने, प्रदेश प्रमुखका पत्रहरु पढिने र सभामुखको निर्वाचनको मिति तोकिने सहसचिव घिमिरेले जानकारी गराए । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपससभामुखको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधान छ । एकै पटक सभामुख र उपसभामुखको निर्वाचन हुन नसक्ने बताउँदै उनले भने, “सभामुख जुन पार्टीको छ, त्यही पार्टीको उपसभामुख हुन नसक्ने र सभामुख जुन लिङ्गको हुन्छ, सोही लिङ्गको उपसभामुख हुन नसक्ने भएकाले पहिले सभामुखको निर्वाचन गराएर मात्र उपसभामुखको निर्वाचन हुनेछ ।”

त्यस्तै प्रदेश प्रमुखसमक्ष लिखित बहुमत पेश गरेमा मुख्यमन्त्री बन्न सक्ने संवैधानिक प्रावधान छ तर उनले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेशसभा सञ्चालनका लागि मर्यादापालकबाहेक विभिन्न तहका ४९ कर्मचारीको आवश्यकता रहेको बताइएको छ ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्