Logo
१५ चैत्र २०८०, बिहीबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशसभाको बैठक तयारीको लागि सभाभवनको मर्मतकार्य शुरु

 विराटनगर : विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक बस्ने भएकाले तीव्रगतिमा त्यसको मर्मतकार्य भइरहेको छ । बैठक हुने भवनको रंगरोगनका साथै आवश्यक पूर्वाधार निर्माणका कार्यसमेत अन्तिम चरणमा पुगेको हो ।

रंगरोगनलगायतका कार्य सम्पन्न भएपछि कार्पेट बिछ्याउनुका साथै कुर्सी राख्ने लगायतका आवश्यक काम गरिने शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका इन्जिनियर विनोद सिंहले जानकारी दिए ।

सभाभवनको मञ्चमा सभामुख, संसद् सचिव र कार्य व्यवस्थाको कुर्सी राखिने निर्देशनअनुरुप व्यवस्था मिलाइएको उनले बताए । मञ्चको मुनी अघिल्लो पंक्तिमा उपसभामुख, उच्चपदाधिकारीका कुर्सी राखिनेछ । मञ्चबाहेक एकसय ४० वटा कुर्सीको व्यवस्था गरिएको हो ।

एकतर्फ सतापक्ष र अर्कोतर्फ प्रतिपक्षको कुर्सी राखिनेछ । प्रतिपक्षको पछाडिको भागमा सञ्चारकर्मीलगायतको कुर्सी राख्ने व्यवस्था मिलाइएको छ । ती कुर्सीमा सेतो रंगको भर र पिठँयूमा राख्ने क्याप आकासे रंगको हुने सो कार्यालयका अर्का इञ्जिनियर सुरेन्द्रकुमार साहले जानकारी दिए ।

यस सम्बन्धमा प्रजिअ रामप्रसाद आचार्यले सभा भवनको मर्मतलगायत सम्पूर्णकार्य बढीमा तीन दिनभित्रमा सम्पन्न गर्न निर्देशन दिएको र सोहीअनुरुप काम भइरहेको बताए ।

प्रदेश नं १ को अस्थायी मुकाम विराटनगर भएपछि प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय, आवास, मन्त्रालय, सभा भवनलगायत मर्मतका साथै सम्पूर्ण व्यवस्थापनका लागि रु सात करोड ५० विनियोजन भएको शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख श्यामकिशोर सिंहले जानकारी दिए ।

त्यो रकमबाट सभाभवनको मर्मतका साथै यतिखेर मुख्यमन्त्रीको कार्यालय स्थापना हुने क्षेत्रीय कृषि निर्देशनालय र प्रदेश प्रमुखको कार्यालय स्थापना हुने क्षेत्रीय सिँचाइ निर्देशनालमा पनि मर्मतको काम शुरु भइसकेको छ ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्