Logo
८ बैशाख २०८१, शनिबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पाल्पाली करुवा’ उद्योग धराशायी, वर्षेनी उद्योग बन्द हुँदै

पाल्पा : पाल्पाको पहिचान बोकेका ‘पाल्पाली करुवा’ उद्योग धराशायी बन्दै गएका छन् । सदरमुकाम तानसेनस्थित टक्सारटोलका उद्योगमा पर्याप्त मात्रामा करुवा उत्पादन हुँदै आए पनि पछिल्ला वर्षमा कच्चापदार्थ र दक्ष कामदारको अभावमा वर्षेनी करुवा उद्योग बन्द हुँदै गएका छन् । करुवा बनाउने सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा र उत्पादनका लागि कच्चा पदार्थ धातु, काँच, मैन र कोइलाको अभावले उद्योग संकटमा परेका हुन् । विगतमा तानसेनमा २५ ओटा उद्योगमा करुवा उत्पादन हुँदै आए पनि पछिल्लो वर्षमा तीनओटा मात्र सञ्चालनमा रहेको उद्योगका सञ्चालक प्रदीप बज्राचार्यले बताए ।

‘माग बढी भए पनि उद्योग बन्द हुँदै गएपछि आपूर्तिमा समस्या भएको छ,’ उनले भने । पाल्पाली करुवा मागअनुसार उत्पादन हुन सकेको छैन । दशैँदेखि कच्चा पदार्थ भारतबाट आयात गर्न नसक्दा उत्पादन न्यून मात्रामा गर्न सकेको श्रेष्ठको भनाइ छ । स्थानीय तह, घरेलु उद्योग र पाल्पा उद्योग वाणिज्य सङ्घको बेवास्ताका कारण वर्षेनी उद्योग बन्द हुँदै गएका हुन् । पहिला मासिक रू। ५० हजारदेखि रू। ६० हजारसम्म आम्दानी हुने गरे पनि हाल उत्पादनमा कमी आउँदा आम्दानी घटेको छ । पाल्पाली करुवा हस्तकलाको प्रयोग गरी निर्माण गर्दा मेहनत र श्रम बढी लाग्ने भएकाले अन्य ठाउँको भन्दा महँगो हुन्छ ।

‘भोजपुरी र पोखरेली करुवा मेसिनद्वारा उत्पादन गरिन्छन्, पाल्पाली करुवा हस्तकलाको प्रयोगले निर्माण गरिन्छ,’ तानसेन टक्सारका करुवा व्यवसायी लालचन्द्र शाक्यले भने । लोप हुने अवस्थामा पुगेको पाल्पाली करुवाको संरक्षण तथा बजार प्रवद्र्धनका लागि स्थानीय तहबाट पहल गरिनुपर्नेमा उनले जोड दिए ।

पाल्पाली करुवा उपहार आदानप्रदानका लागि बढी प्रयोग गरिँदैआएको छ । यहाँको करुवा जापान, बेलायत, अमेरिका र थाइल्याण्डसम्म निर्यात हुने गरे पनि मागअनुसार उत्पादन हुन सकिरहेको छैन । करुवासँगै काँचका थाल, कचौरा, पानसलगायत सामग्री किन्न उपभोक्ता यहाँ आउने गरेका छन् । जिल्ला उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष शैलेन्द्र भट्टराईले पाल्पाली करुवा संरक्षणका लागि तथा उत्पादन बढाउन अध्ययन भइरहेको बताए । (रासस)

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्