Logo
१५ चैत्र २०८०, बिहीबार
(January 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा आर्थिक समस्या, सरकारी कामकाज ठप्प

अमेरिकी सिनेटरले सरकारी कामकाज ठप्प भएको दोस्रो दिन आइतबार पनि बजेट सम्बन्धी विधेयकमा सहमति जुटाउने प्रयास गरेका छन् । नयाँ बजेट सम्बन्धी विधेयक सिनेटमा असफल हुँदा अमेरिकाका संघीय निकाय शनिबार बिहानैदेखि बन्द भएका छन् । सिनेटमा प्रस्तुत भएको संघीय सरकारलाई आउँदो फेब्रुअरी १६ सम्म कार्यसञ्चालन खर्च उपलब्ध गराउने सम्बन्धी विधेयक पारित हुन नसक्दा सरकारी कामकाज ठप्प भएको हो ।

विधेयक असफल भएपछि आरोप प्रत्यारोपका बिच सिनेटरले सहमतिको प्रयास गरिरहेका छन् । तर दोस्रो दिन आइतबार पनि सहमति जुट्न सकेन । अब स्थानीय समय अनुसार सोमबार बिहान कार्यलय खुल्ने बेलासम्ममा पनि सहमति जुटेमा धेरै संघीय निकायका सटर बन्द हुनेछन् । संघीय सरकारलाई कार्यसञ्चालनका लागि प्रदान गरिने सम्बन्धी विधेयक सिनेटबाट पास हुनका लागि ६० मत आवश्यक थियो । तर डेमोक्र्याटिक सिनेटरले विधेयक पास हुन दिएनन् ।

कंग्रेस र ह्वाइट हाउसमा एउटै पार्टीको नेतृत्व रहेका बेला सरकारी कामकाज ठप्प भएको आधुनिक अमेरिकाको इतिहासमा यो पहिलो पटक रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । विधेयक असफल हुँदा संघीय निकायमा काम गर्ने हजारौँ कामदार प्रभावित भएका छन् । डेमोक्र्याटिक पार्टीले विधेयकलाई राजनीतिक प्रतिशोधको विषय बनाएको ह्वाइट हाउसले आरोप लगाएको छ ।

उनीहरुका कारण राष्ट्रिय सुरक्षा, सेना तथा तिनका परिवार, समस्यामा रहेका बालबालिका तथा नागरिकलाई सेवा गर्न सक्ने देशको क्षमतामाथि प्रहार भएको ह्वाइट हाउसको आरोप छ । तर डेमोक्र्याट सिनेटर चक स्चुमरले भने दुई पार्टीबिच भएको दुई सहमतिबाट राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हटेकाले आफूहरुले विधेयकको पक्षमा मत नदिएको बताए ।

यसअघि पछिल्लो पटक सन् २०१३ मा अमेरिकी सरकारको कामकाज ठप्प भएको थियो । तर त्यसबेला ह्वाइट हाउसमा डेमोक्र्याटिक तथा सिनेटमा रिपब्लिकनको नियन्त्रण थियो । स्थानीय समय अनुसार शुक्रबार राति भएको मत विभाजनमा विधेयक असफल भएको हो । शनिबार बिहानदेखि संघीय निकायहरुमा अत्यावश्यक बाहेक व्यवसायिक काम ठप्प भएका छन् ।

हाउजिङ, वातावरण, शिक्षा तथा वित्तिय विभागका कर्मचारीहरु घरमै बस्ने छन् । यस्तै कोष तथा लेखा, स्वास्थ्य, सुरक्षा र यातायात विभाग अन्तर्गतका कार्यालय पनि बन्द रहने छन् । यस्तै भिसा तथा पासपोर्टको काम पनि ढिला हुने भएको छ । राष्ट्रपति ट्रम्पले सत्ता सम्हालेको एक वर्ष पुगेकै दिनदेखि सरकारी कामकाज ठप्प भएको हो ।

प्रकाशित मिति: Jan 22, 2018

प्रतिक्रिया दिनुहोस्