Logo
७ बैशाख २०८१, शुक्रबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुवेत गएकी महिलाको लाश साउदीमा

साउदी अरब : साउदीको राजधानी रियादबाट झण्डै एक हजार किलोमिटर टाढा वादी अलदवासरस्थित सरकारी अस्पतालमा एकजना नेपाली महिलाको लाश फेला परेको छ । वैदेशिक रोजगारको लागि कुवेत गएकी रातामाटा(४, पाखापानी रोल्पाकी ३३ वर्षीया चिन्ताकुमारी खत्रीको लाश साउदी अरबमा भेटिएको छ । खत्रीको लाश अस्पतालमा तीन महिनादेखि भएपनि नेपाली दूतावास र खत्रीको परिवारलाई त्यसबारे केही सूचना थिएन । सोही क्षेत्रमा कार्यरर्त नेपाली एकराज कठायत, रामचन्द्र मैनाली र याम मगरले लाशबारे नेपाली दूतावासलाई जानकारी दिएको हो ।

नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले अस्पतालसँग मृतक चिन्ताकुमारीको
स्पोन्सर, मेडिकल रिपोर्ट र मृतक प्रमाणपत्र माग गरेको बताए । ‘चिन्ताकुमारीको कसरी मृत्यु भयो ? कुवेतबाट साउदी कसले ल्यायो ? अस्पतालमा शव कसरी बस्यो भन्ने विषयमा हामीले खोजी गरिरहेका छौं,’शर्माले भने,‘उनको शवलाई नेपाल पठाउन आवश्यक प्रक्रिया सुरु गरिसकेका छौं ।’

वैदेशिक रोजगार विभागका अनुसार २०७३ मंसिर १५ गते कुवेतको केएफसी कम्पनीको क्लिनरमा काम गर्न व्यक्तिगत श्रमस्वीकृति दिएको छ । उनलाई एजेन्टले क्लिनर काममा नभई घरेलु कामदारमा पठाएको खत्रीका बावु धनीराम डाँगीले बताए । कुवेत गएको तीन महिनापछि मालिकले साउदीमा पठाएको डाँगीले बताए । खत्रीका तीन बालबच्चाहरु छन् । उनी कुवेत दोस्रो पटक गएकी थिइन् । उपनियोग प्रमुख शर्माले स्पोन्सर पत्ता लगाउन कुवेतस्थित नेपाली दूतावाससँगको सहयोग लिने बताए । ‘स्पोन्सर पत्ता लगाउन सकियो भने शव पठाउने खर्च स्पोन्सरबाटै ब्यहोर्न लगाइनेछ,’ उनले भने,‘स्पोन्सर फेला परेन भने वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड वा अन्य स्रोतबाट जुटाइनेछ ।’

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्