Logo
१५ चैत्र २०८०, बिहीबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमद् भागवत ज्ञान महायज्ञबाट शैक्षिक उन्नयन

झापा : क्याम्पसको स्तरोन्नतिका लागि कनकाई नगरपालिकामा रहेको कन्काई बहुमुखी क्याम्पस सुरुङ्गाले २०६४ सालमा श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजना ग¥यो । महायज्ञबाट नगद र जिन्सीसहित झण्डै एक करोड रुपैयाँ जुट्यो । सोही रकमले क्याम्पसले एमएडका कक्षा सञ्चालन ग¥यो । विसं २०६५ सालदेखि शुरु भएको एमएडका कक्षा अहिले पनि निरन्तर सञ्चालनमा रहेको प्राध्यापक तीर्थराज खरेलले बताउनुभयो । कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा रहेको हिमाली आधारभूत विद्यालयले पनि पाँच वर्ष अघि श्रीमद्भागवत ज्ञान महायज्ञको आयोजना गरेको थियो । महायज्ञबाट संकलित ३२ लाख रुपैयाँबाट विद्यालयले सुविधासम्पन्न ८ कोठे भवन निर्माण गरेको छ ।

सोही भवनमा अहिले २० जना फरक क्षमता भएका बालबालिकासहित ४ सय २५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । महायज्ञमा दाताले ४० लाख रुपैयाँ दिने प्रतिवद्धता जनाए पनि ३२ लाख रुपैयाँ मात्र संकलन भएको प्रधानाध्यापक केशव ओझाले बताउनुभयो । यता, अर्जुनधारा नगरपालिका–६ मा रहेको लक्ष्मी माविमा पनि २०७१ सालमा श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञबाट विद्यालयले नगद र जिन्सीसहित झण्डै एक करोड रुपैयाँ संकलन गरेको विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले जानकारी दिनुभयो । सङ्कलित रकमले विद्यालयको भौतिक सुधारसहित विद्यालयमा कम्प्युटर, विज्ञान प्रयोगशाला र प्लस–टु कक्षा सञ्चालन गरिएको छ ।

त्यस्तै, बिर्तामोड नगरपालिका–१ रामचौकमा रहेको मोहनमाया माविले पुराणबाट संकलन गरेको रकमले १४ कोठे सुविधा सम्पन्न भवन निर्माण गरेको छ । तत्कालीन प्रधानाध्यापक विन्दु श्रेष्ठका अनुसार विद्यालयले २०६८ सालमा आयोजना गरेको श्रीमद्भागवत ज्ञानमहायज्ञमा ५० लाखभन्दा बढी रकम संकलन भएको थियो । सोही रकमबाट विद्यालयले शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गरी विद्यालयमा प्राविधिक शिक्षा शुरु गर्न सक्यो ।  माथि चर्चा गरिएका यी विद्यालय जिल्लाका नमूना मात्र हुन् । विद्यालयको भौतिक र शैक्षिक गुणस्तर उकास्न अहिले झापाका धेरै विद्यालयले पुराण लगाउन थालेका छन् । ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रमा सञ्चालित अधिकांश विद्यालयको आर्थिक स्रोत जुटाउने माध्यम नै अहिले पुराण भएको छ । सामुदायिक विद्यालयमा बढ्दो विद्यार्थीको चापका कारण भवन अपुग हुँदा र विद्यालयको स्तरोन्नतिका लागि सरकारी तबरबाट आवश्यक रकम प्राप्त नहुँदा विद्यालयले आर्थिक स्रोतको जोहो गर्न यज्ञको आयोजना गर्नुपरेको हिमाली आधारभूत विद्यालयका प्रधानाध्यापक ओझाले बताउनुभयो ।

राज्यले शिक्षा क्षेत्रमा पर्याप्त लगानी नगर्दा स्थानीय दाताकै सहयोगमा झापाका सबैजसो सामुदायिक विद्यालय सञ्चालनमा छन् । विद्यालयका लागि आवश्यक पर्ने जग्गा र भवन निर्माणका लागि समेत स्थानीय दाताकै भर पर्नुपर्ने अवस्था रहेको छ । बाह्रदशी गाउँपालिका–७ डाँगीवारीमा रहेको गौरीशंकर माविले प्लस–टुका कक्षा सञ्चालनका लागि २०६६ सालमा पुराणको आयोजना गरेको थियो । सो पुराणबाट विद्यालयले २३ लाख रुपैयाँ संकलन गरेर २०६८ सालदेखि प्लस–टुका कक्षा सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले जानकारी दिनुभयो । “ग्रामीण क्षेत्रमा उच्च शिक्षा अध्ययनका लागि नजिकै विद्यालय नभएपछि हामीले पुराण लगाएर त्यो वेला प्लस–टु सञ्चालन गरेका थियौं”– प्रधानाध्यापक कटुवालले भन्नुभयो – “जिल्लाबाट अझै पनि भवन निर्माणका लागि पर्याप्त सहयोग नहुँदा हामीलाई भवनको समस्या छ । अहिले यो विद्यालयमा ७ सय ७६ जना विद्यार्थी अध्ययनरत छन् ।”

त्यसो त हल्दिवारी गाउँपालिकाको गोलधापमा रहेको जनजागृति क्याम्पसले पनि तीन वर्ष अघि विद्यालयको शैक्षिक उन्नयनका लागि भन्दै विद्यालयमा पुराण लगाएको थियो । पुराणबाट संकलित रकमबाट कसैका छोरीबुहारी अर्थाभावका कारण पढाइबाट वञ्चित हुनु नपरोस् भन्दै गाउँ–गाउँमा गएर छोरीबुहारीलाई खोजी गर्दै निःशुल्क शिक्षा प्रदान गर्ने अभियान शुरु गरिएको बताउनुहुन्छ क्याम्पस प्रमुख हरिप्रसाद संग्रौला । जिल्ला शिक्षा कार्यालय झापालाई अघिल्लो आर्थिक वर्ष विद्यालयको भौतिक निर्माणतर्फ १२ करोड ६८ लाख ५० हजार रकम प्राप्त भएको थियो । जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद वरालका अनुसार चालू आर्थिक वर्षका लागि पनि १५ वटा चारकोठे, ३८ वटा २ कोठे, ४६ वटा शौचालय र १६० वटा विद्यालय मर्मतका लागि १२ करोड २६ लाख ८० हजार रुपैयाँ प्राप्त भएको छ ।

जिल्लामा हाल ३ सय ६५ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेको उप जिल्ला शिक्षा अधिकारी होम भण्डारीले जानकारी दिनुभयो । ती विद्यालयमा करिव एक लाख ५० हजार वालवालिका अध्ययनरत रहेको जिल्ला शिक्षा कार्यालय झापाका विद्यालय निरीक्षक हरि मिश्रले बताउनुभयो । बढ्दो जनसंख्याका कारण हरेक सामुदायिक विद्यालयमा प्रत्येक वर्ष विद्यार्थी संख्या बढ्दो छ । जिल्लामा ३ सय ४० निजी विद्यालय सञ्चालनमा रहे पनि सामुदायिक विद्यालयमा विद्यार्थीको चाप भने उस्तै छ । “सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्केको आरोप लगाइए पनि हरेक वर्ष विद्यार्थीको चाप बढ्ने गरेको छ” – उप जिल्ला शिक्षा अधिकारी भण्डारीले भन्नुभयो ।

शिक्षा क्षेत्रको भौतिक विकासका लागि सरकारबाट प्राप्त रकमभन्दा सामुदायिक विद्यालयले आयोजना गरेको यज्ञयज्ञादिबाट बढी रकम जुट्न थालेपछि हरेक विद्यालयले यो समयमा विद्यालयमा पुराण लगाउने गरेका छन् ।
गत पुस २१ देखि २९ गतेसम्म अर्जुनधारा नगरपालिका–११ मा रहेको महारानीगञ्ज माविले विद्यालयको स्तरोन्नतिका लागि आयोजना गरेको महायज्ञबाट नगद र जिन्सीसहित झण्डै एक करोड रुपैयाँ संकलन गरेको छ । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष लवकुश गौतमका अनुसार २०१५ सालमा स्थापना भएको सो विद्यालयको स्तरोन्नतिका लागि आयोजित महायज्ञमा स्थानीय दीलकुमारी बस्नेतले सोही विद्यालयका पूर्व शिक्षक स्व पुष्प बस्नेतको स्मृतिमा तीन कठ्ठा जग्गा प्रदान गर्नुभएको छ । त्यस्तै, समाजसेवी बमबहादुर गिरीले एक कठ्ठा र कृष्णप्रसाद बरालले विद्यालयसँगै जोडिएको ५ धुर जग्गा प्रदान गर्नुभएको छ । विद्यालयमा पुस्तकालय निर्माण गर्न इन्दिरा रानाले पाँच लाख रुपैयाँ बराबरको सहयोग गर्ने वचन दिनुभएको छ ।

यता, अर्जुनधारा नगरपालिकास्थित शंकराचार्यपीठ वेदवेदाङ्ग संस्कृत पाठशालामा माघ १ गतेदेखि महायज्ञ सञ्चालन भइरहेको छ । विसं २०३३ सालदेखि विद्यार्थीलाई संस्कृत शिक्षा प्रदान गर्दै आएको शंकराचार्यपीठले महाविद्यालय हुँदै प्रादेशिक गुरुकुल विश्वविद्यालयका रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ ‘नारद महापुराण अकालमृत्यु निवारण ज्ञान महायज्ञ’ सञ्चालन गरेको हो । दुई बिगाह १५ कठ्ठा क्षेत्रफलमा फैलिएको पाठशालाले महायज्ञबाट संकलित दानबाट २ बिगाह ५ कट्ठा जग्गा खरिद गर्ने लक्ष्य लिएको छ । आउँदो चैत मसान्तभित्रमा जग्गा खरिद गरिसक्ने शंकराचार्यपीठको लक्ष्य रहेको प्राचार्य छन्दुराम भण्डारीले बताउनुभयो । शंकराचार्य पीठमा शुरु भएको अनुष्ठान ४२औँ हो । यो अनुष्ठानमा हालसम्मकै सबैभन्दा धेरै रकम, भौतिक सामग्री तथा जमिन दानमा प्राप्त हुन सक्ने विश्वास आफूहरुले लिएको पीठका आचार्य लक्ष्मीप्रसाद खतिवडाले बताउनुभयो ।

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्