Logo
१३ बैशाख २०८१, बिहीबार
(January 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविका सबै क्याम्पसहरुमा स्मार्ट बोर्ड र निःशुल्क वाइफाइ

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड र निःशुल्क वाइफाइको प्रबन्ध शुरु गरेको छ । विगतमा कालोपाटीमा शिक्षकले लेख्दै मेट्दै गर्दा विद्यार्थीले टिप्न नभ्याउने र मेटिइसकेपछि फेरि बुझाउनुपर्ने हुन्थ्यो भने स्मार्ट बोर्ड पहिला लेखिएमा सामग्री पछि दोहो¥याएर विद्यार्थीलाई देखाउन सकिन्छ । विश्वविद्यालयले स्मार्ट बोर्ड खरिदका लागि प्रतिक्याम्पस रु एक लाखका दरले रकम व्यवस्था गरेको छ भने कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालय, केन्द्रीय विभाग र क्याम्पसमा निःशुल्क वाइफाइ एवं विद्युतीय शासन (इ गभर्नेन्स)का लागि कूल रु १० करोड विनियोजन गरेको छ ।

त्रिविले चालु आवमा स्मार्ट बोर्ड खरिदका लागि क्याम्पसले रकम माग्ने क्रम शुरु भएको योजना महाशाखाका प्रमुख प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिनुभयो । हाल त्रिविमा ६० आंगिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पस छन् । सो बारेमा गत पुस २८ मा प्रदेश नं ७ को धनगढीमा भएको क्याम्पस प्रमुखको भेलामा अभिमुखीकरण गरिएको र अन्य प्रदेशमा पनि क्रमशः भेला हुने प्रमुख प्रा डा पोखरेलले बताउनुभयो । तर यसवारे उपत्यकाकै कतिपय क्याम्पसले जानकारी पाउन नसकेको जनाएको छ ।

उहाँले नियमित अध्ययन गर्न समय नपाउने विद्यार्थीका लागि विश्वमा प्रचलित खुला र दूर सिकाइ (ओडिएल) कक्षा सञ्चालन गरिएको पनि बताउनुभयो । यस्तै विद्यार्थीलाई एसएमएसबाट मार्कसिट हेर्न मिल्ने तथा अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरिएको प्रमुख डा पोखरेलले बताउनुभयो । त्रिविले कीर्तिपुरस्थित आफ्ना निकाय र देशभरिका आंगिक क्याम्पसमा प्रविधिको सहज पहुँच गराउन नेपाल टेलिकमसँग २०७३ पुस २२ मा सम्झौता गरेको थियो ।

रजिष्ट्रार डिल्लीराम उप्रेतीले गत साउन २९ मा सम्पन्न त्रिविसभामा प्रस्तुत र पारित आव २०७४÷२०७५ को कार्यक्रम तथा बजेटमा शिक्षण क्रियाकलापमा प्रविधिको प्रयोगको विस्तार र उपत्यका बाहिर सेमेष्टर प्रणालीलाई क्रमशः लागू गर्ने विषयलाई प्राथमिकता दिइएको छ । पाटन संयुक्त क्याम्पसका प्रमुख डा माधव गौतमले स्मार्ट बोर्ड ल्याउने तयारीमा आफूहरु रहेको बताउँदै त्यसका लागि बजेट बढाउनुपर्नेमा जोड दिनुभयो । “विश्वस्तरको शिक्षाका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्नैपर्छ, हामी पुस्तकाललाई पनि विद्युतीय बनाउने प्रक्रियामा छौँ,” उहाँले भन्नुभयो ।

ठमेलस्थित सरस्वती क्याम्पसका प्रा रामहरि लम्सालले प्रविधिमैत्री भएर पढाउँदा विद्यार्थी र शिक्षकबीचको अन्तक्र्रिया थप प्रभावकारी हुने बताउनुभयो । सो क्याम्पसले हाल फ्लेक्स बोर्डमार्फत शिक्षण क्रियाकलाप गर्दै आएको छ ।

प्रकाशित मिति: Jan 20, 2018

प्रतिक्रिया दिनुहोस्