Logo
१५ चैत्र २०८०, बिहीबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश प्रदेश सरकार संचालनका लागि तयारी सुरु

जनकपुरधाम : प्रस्तावित मधेश प्रदेश अर्थात प्रदेश २ को अस्थायी मुकाम जनकपुर तोकिएपछि पहिलो प्रदेशसभा बैठक तथा प्रदेश सरकार संचालनको तयारी सुरु भएको छ । मन्त्रीपरिषदद्धारा प्रदेश प्रमुख नियुक्त गरी मुकाम कायम भएपछि जनकपुरमा प्रदेशसभा भवन, मुख्यमन्त्रीको कार्यालय, सभामुखको कार्यालय र मन्त्रालयको लागि स्थान निर्धारण गरी तयारी थालिएको हो ।

हालका लागि प्रदेश प्रमुखको कार्यालय मुरली चोकमा रहेको नेपाल राष्ट्र बैंकको भवनको अतिथी गृहमा राख्ने र प्रमुखको आवासको व्यवस्था पनि सोही कार्यालयमा गरिने योजना रहेको छ । त्यसैगरी प्रदेशसभा भवन, मुख्यमन्त्रीको कार्यालय र मन्त्रालयको लागि जनकपुर उपमहानगरपालिका १२ स्थित तीन बिगाह क्षेत्रफलमा फैलिएको शैक्षिक तालिम केन्द्र तथा जिल्ला शिक्षा कार्यालयको भवनमा राख्ने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईले जानकारी दिए ।

सातवटा सुविधासम्पन्न भवन रहेको शैक्षिक तालिम केन्द्र २०५५ सालमा निर्माण भएको हो । हाल नयाँ संरचना निर्माण वा पुराना संरचनाको मर्मत सम्भारमा रकम खर्चिनु साटो उपलब्ध भौतिक संरचनालाई प्रयोग गरी प्रदेश सरकारको कार्य तत्काललाई सम्पादन गर्न सकिने चापागाईले बताए । शैक्षिक तालिम केन्द्रमा प्रदेशसभाको बैठक कक्ष र शिक्षा कार्यालयमा मुख्यमन्त्रीको कार्यालय राखिने छ ।

त्यसैगरी प्रदेशमा सातवटा मन्त्रालय कायम गरिन भएकाले तालिम केन्द्र सञ्चालन रहेको भवनमा दुईवटा मन्त्रालय, केन्द्रको पुरुष शिक्षक प्रशिक्षार्थी आवासमा तीनवटा मन्त्रालय र महिला शिक्षक प्रशिक्षार्थी आवासमा दुईवटा मन्त्रालय राखेर काम सुरु गर्न सकिने तयारी गरिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय जनकपुरका प्रमुख गंगाप्रसाद यादवले जानकारी गराएका छन् ।

सोही भवनमा प्रदेशसभा कक्ष, प्रदेशसभाको सभामुखको कार्यालय र सभामुख निवास पनि तोकिने छ । त्यसैगरी हाल जिल्ला शिक्षा कार्यालयको भवनलाई व्यवस्थापन गरी मुख्यमन्त्रीको कार्यालय तथा मुख्यमन्त्री निवासको व्यवस्थापन गरिने छ । सरकारले यसअघि पूर्वाञ्चल क्षेत्रीय प्रशासकको संयोजकत्वमा गठन गरेको प्रादेशिक राजधानीको भौतिक संरचना अध्ययन तथा सिफारिस समितिले सहरी विकास मन्त्रालयलाई बुझाएको सिफारिस पत्रमा र हाल भइरहेको तयारीको आधारमा प्रदेश सरकारको मातहतमा रह्ने सबै मन्त्रालय, प्रदेशसभा भवन र मुख्यमन्त्रीको कार्यालय एउटै परिसरमा रह्ने छ ।

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्