Logo
१२ बैशाख २०८१, बुधबार
(January 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई कर नतिर्ने आन्दोलनकारीका निर्णय

दाङ : प्रदेश नम्बर ५ को अस्थायी राजधानी सरकारले रुपन्देहीलाई तोकेपछि दाङ राजधानी सरोकार समितिले माघ ४ लाई कालोदिन घोषणा गरेको छ । दाङ राजधानी सरोकार समितिले सरकारको निर्णयको विरोधस्वरुप घरघरमा कालो झण्डा राख्ने, अस्पताल बाहेक सबै सरकारी कार्यालय पूर्णरुपमा बन्द गर्ने, एम्बुलेन्सलाई समेत रोकेर बिरामीको पहिचान गरेपछि मात्रै चल्न दिने, अटो रिक्सा समेत बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले गठन गरेको उच्चस्तरीय समितिको सिफारिसविपरित रुपन्देहीलाई अस्थायी राजधानी तोकिएको विरोधमा दाङमा अनिश्चितकालीन आमहड्ताल जारी छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रुपन्देहीलाई प्रदेश पाँचको अस्थायी राजधानी तोकेको थियो । त्यसलगत्तै घोराहीमा बसेको दाङ राजधानी सरोकार समितिको बैठकले आन्दोलनका नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको हो । बैठकले जिल्लाका सबै जनप्रतिनिधिलाई बन्धक बनाउने लगायतका निर्णयहरु गरेको छ ।

समितिका सविन प्रियासनले राष्ट्रियसभाको चुनावलाई प्रभावित पार्ने गरी दाङ जिल्लाका जनप्रतिनिधिहरुलाई बन्धक बनाउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार २४ माघमा दाङमा हुने भनिएको प्रदेश ५ को राष्ट्रिय सभा चुनाव हुन नदिने, सम्पूर्ण नेता एवं सरकारका प्रतिनिधिहरुलाई दाङ जिल्लामा प्रवेश निषेध गर्ने र सरकारलाई कर नतिर्ने निर्णय पनि भएका छन् ।

 

 

प्रकाशित मिति: Jan 18, 2018

प्रतिक्रिया दिनुहोस्