Logo
१३ बैशाख २०८१, बिहीबार
(January 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जलविद्युतको आईपीओमा कडाइ, पे–ब्याक पिरियड खुलाउनुपर्ने

काठमाडौं : नेपाल धितोपत्र बोर्डले आइतवार एक निर्देशन जारी गर्दै जलविद्युत् कम्पनीको सार्वजनिक शेयर निष्कासनमा थप कडाइ गरेको छ । अबदेखि सार्वजनिक शेयर निष्कासन गर्ने सबै जलविद्युत् कम्पनीले विवरणपत्रमा अनिवार्य रूपमा लगानी फिर्ता हुने अनुमानित अवधि (पे–ब्याक पिरियड) खुलाउनुपर्ने भएको छ ।

बोर्डको व्यवस्थाअनुसार विवरणपत्रको मुख पृष्ठमा जलविद्युत् आयोजनाको पे–ब्याक पिरियड सँगै प्रतिमेगावाट लागत, विद्युत् उत्पादन शुरू हुन बाँकी अवधिसमेत खुलाउनु पर्नेछ । यीबाहेक पहिलेदेखि नै सबै कम्पनीलाई लागू भएको क्रेडिट रेटिङको ग्रेड र वित्तीय विवरण पनि प्रस्तुत गर्नुपर्ने छ ।

विवरणपत्रको मुख पृष्ठमा स्पष्ट देखिने गरी ३ वर्षभन्दा लामो अवधिदेखि सञ्चालित कम्पनीले सञ्चालन अवधिभरको लेखापरीक्षकको वित्तीय विवरण प्रस्तुत गर्नुपर्ने छ । त्यस्तो विवरणमा कम्पनीको प्रतिशेयर खुद सम्पत्ति र प्रतिशेयर आम्दानी स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने बोर्डको भनाइ छ । धितोपत्रको सार्वजनिक निष्कासनमा लगानीकर्तालाई सूसुचित गराउन र निष्कासन प्रक्रियालाई थप व्यवस्थित तथा पारदर्शी गराउन यस्तो व्यवस्था गरेको बताएको छ ।

बोर्डका अनुसार सार्वजनिक शेयर जारी गर्ने जलविद्युत् कम्पनीको पछिल्लो लेखापरीक्षकको वित्तीय विवरणमा प्रतिशेयर खुद सम्पत्ति शेयरको अङ्कित मूल्यभन्दा कम भएका र सबैभन्दा न्यून रेटिङ प्राप्त गरेमा बोर्डले थप गरेको ६ बुँदे व्यवस्थासमेत पालना गर्नु पर्नेछ । त्यस्तो अवस्थामा प्रक्षेपित वित्तीय विवरण पेश गर्दा निष्कासनकर्ता संस्थाको लेखापरीक्षकले सो प्रक्षेपण ठीक रहेको भनी प्रमाणित गर्नु पर्नेछ । त्यसरी विवरणपत्रमा प्रक्षेपित विवरण वार्षिक प्रतिवेदनमा वास्तविक विवरणसँग तुलनासहित तालिकामा प्रस्तुत गर्नु पर्नेछ । प्रक्षेपित र वास्तविक विवरण फरक परेमा सोको कारण खुलाई प्रक्षेपण अवधिसम्म प्रत्येक वर्ष प्रस्तुत गर्नु पर्नेछ ।

बोर्डले सार्वजनिक निष्कासनका लागि तयार विवरणपत्र सम्बन्धित कम्पनीको वेबसाइटमा वित्तीय विवरण प्रक्षेपण गरिएको अवधिसम्म अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरेको छ । निष्कासन तथा विक्री प्रबन्धकको वेबसाइटमा पनि सो धितोपत्रको बाँडफाँट नभएसम्म विवरणपत्र राख्नु पर्नेछ । अनलाइन आवेदन गर्दा आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाले आवेदन भर्ने स्थानमा विवरणपत्रको लिङ्क निष्कासन अवधिभर राख्नुपर्ने व्यवस्था थप गरिएको छ । नयाँ व्यवस्थाले सर्वसाधारण लगानीकर्तालाई पनि जिम्मेवार बनाएको छ । सार्वजनिक निष्कासनको धितोपत्र लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा आवेदकले स्वविवेकले दरखास्त दिएको हो भन्ने उद्घोषण गर्नु पर्नेछ ।

प्रकाशित मिति: Jan 1, 2018

प्रतिक्रिया दिनुहोस्