Logo
१३ बैशाख २०८१, बिहीबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ब्याजदरमा नाटकीय ढङ्गको वृद्धिले अर्थतन्त्र धराशायी’ : परिसङ्घ

काठमाडौं : बैङ्किङ प्रणालीमा देखिएको तरलताको संकटका कारण प्रवाहित कर्जाको ब्याजदरमा नाटकीय ढङ्गले वृद्धि भएकाले यसले समग्र अर्थतन्त्रमा समस्या देखा पर्ने नेपाल उद्योग परिसङ्घको दावी छ । तरलता संकट र ब्याजदर वृद्धिका कारण समग्र अर्थतन्त्रमा नै समस्या आएको भन्दै बैङ्किङ क्षेत्रमा देखिएको तरलता समस्यालाई परिसङ्घले गम्भिरताकासाथ नियालिरहेको बताएको छ ।

‘बढ्दो ब्याजदरले उत्पादन लागत वृद्धि भई उद्योग र व्यावसायिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने, निर्यात हतोत्साहित हुने, आयात तीव्र गतिले बढ्ने र समग्र लगानीमा संकुचन आउने संभावना प्रवल रहेको छ’, परिसङ्घले भनेको छ । घट्दो लगानीले कूल गार्हस्थ उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा शिथिलता आउने तथ्यलाई गंभिरतापूर्वक मनन गरी यस समस्यालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैङ्कबाट नीतिगत सुधारको पूर्ण अपेक्षा गरेको उसले बताएको छ ।

२०७३ असोजमा देखिएको तरलता समस्यापश्चात राष्ट्र बैङ्ककै पहलले समस्या केही समाधान भएकोमा पुनः यो समस्या देखिनु संरचनात्मक र नीतिगत तहमै परिवर्तन गरिनुपर्ने आवश्यकता रहेको देखाएको परिसङ्घको भनाई छ । जसबाट दीर्घकालिन समयमा व्यवसायिले पूर्वानुमानको आधारमा उद्योग व्यवसाय निर्वाध ढङ्गले गर्न सकियोस ।

मुलुकलाई आवश्यक पूँजी अर्थ व्यवस्थामा लगानी गर्न सके देशले परिलक्षित गरे बमोजिम दीगो, फराकिलो र उच्च आर्थिक विकास हासिल गर्न सक्ने हुदाँ हालको तरलता समस्या सम्बोधनमा नेपाल सरकार, अर्थ मन्त्रालय, राष्ट्र बैङ्कले ठोस कदम चाल्नु पर्नेमा परिसङ्घले जोड दिएको छ । दीर्घकालीन रुपमा उद्योग व्यवसाय मैत्री मौद्रिक नीति तथा उपकरणको माध्यमबाट समस्या सम्बोधन हुने आशा रहेको परिसङ्घले शनिवार एक विज्ञप्तिमार्फत बताएको छ ।

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्