Logo
८ बैशाख २०८१, शनिबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीच बाटोमै इन्धन चोरी हुने क्रम बढेपछि ट्याङ्करमा लकिङ प्रणाली लागू

काठमाडौं : पछिल्लो समय इन्धनको ट्याङकरबाट बीच बाटोमै इन्धन चोरी हुनेलगायतका घटना बढी बढेकाले  नेपाल आयल निगमले ट्याङ्करमा लकिङ प्रणाली लागू गरेको हो । उक्त नाका हुँदै इन्धन बोकेर नेपाल भित्रिने सबै ट्याङ्करमा लकिङ प्रणाली लागू गरेको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार यही साताभित्र लकिङ गरिएका ट्याङ्कर सो नाकाबाट नेपाल आउने छन् । केही कारणले गर्दा ढिलो भएमा आइतवारसम्ममा ती ट्याङ्कर नेपाल प्रवेश गरिसक्ने निगमको भनाइ छ ।

भारतको सिलिगुडीबाट नेपाल आयात हुने इन्धन बोक्ने ट्याङ्करमा लकिङ प्रणाली लागू भएको छ । नेपाल आयल निगमले पहिलो चरणअन्तर्गत भारतको सिलिगुडी हुँदै नेपाल भित्रिने इन्धनको ट्याङ्करमा लकिङ प्रणाली लागू गरेको हो ।

इन्धनको ट्याङकरमा लकिङ प्रणाली लागू गर्न निगमको एक टोलीले भारतस्थित इण्डियन आयल कर्पोरेशन (आईओसी)को  टोलीसँगको सहकार्यमा लामो अध्ययन गरेको थियो । सो अध्ययनले लकिङ प्रणाली लागू गर्ने निष्कर्ष निकालेको थियो । सोही अध्ययन प्रतिवेदनको सुझावअनुसार पहिलो चरणमा सिलिगुडीबाट भित्रिने ट्याङ्करमा सो प्रणाली लागू गर्ने निर्णय गरिएको निगमले बताएको छ । यस्तो प्रणाली चाँडै नै अन्य स्थानबाट नेपाल भित्रिने ट्याङ्करमा पनि लागू गर्ने तयारी भइरहेको निगमले स्पष्ट पारेको छ ।

प्रवक्ता गोइतका अनुसार लकिङ प्रणाली लागू हुँदा आगामी दिनमा ट्याङ्करबाट हुने इन्धन चोरी वा चुहावट कम हुनेछ । हाल सामान्य किसिमको ताला लगाइने हुँदा उक्त ताला सजिलै फुटाउन मिल्छ । तर, अब लागू गरिएको लकिङ प्रणाली भने सजिलै फुटाउन सकिँदैन । आईओसीको लकिङ सिष्टम अन्तरराष्ट्रिय स्तरको छ र नेपालमा पनि सोही डिजाइनको लकिङ प्रणाली लागू गरिएको उनले जानकारी गराए । लकिङ प्रणालीको तालाको साँचो निगम र आईओसीसँग मात्रै हुँदा यसले चोरी हुने कामलाई पूर्णरूपमा रोक्ने निगमले बताएको छ ।

आपूर्ति मन्त्रालयका अनुसार मन्त्रालयले निगमलाई पटकपटक लकिङ प्रणाली लागू गर्न निर्देशन दिएको थियो । निगमका कर्मचारी स्वयम्, ट्याङ्कर चालक तथा व्यवसायीको मिलोमतोमा बीच बाटोबाटै इन्धन चोरी हुने कार्य बढेपछि मन्त्रालयले लकिङ प्रणाली लागू गर्ने निर्णय गरेको थियो । निगमका अनुसार हाल १ हजार ५ सय ट्याङ्करले इन्धन ढुवानी गर्दै आएका छन् ।

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्