Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साढे ३ खर्ब रकम जुटाउन पुनर्निर्माण प्राधिकरण पुनः दाता सम्मेलन गर्ने

काठमाडौं : पुस १० गते गठन भएको प्राधिकरणको २ वर्ष पुगेको अवसरमा प्राधिकरणले बुधवार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले पुनर्निर्माणको काम तीव्र पारिएअनुसार हाल ४८ प्रतिशत काम भएको र यो आर्थिक वर्षभित्रमा निजी आवास निर्माणको काम ६० प्रतिशत पुर्याउने बताए । उनले भने, ‘पुनर्निर्माणका लागि फण्डिङ ग्याप देखिएको छ, उक्त रकम साढे ३ खर्ब छ, स्रोत जुटाउनका लागि आगामी वर्षको साउन वा भदौमा दाता सम्मेलन गर्ने तयारी गरिएको छ ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको २ वर्ष पुगे पनि पुनर्निर्माणको काम सोचेअनुसार नभएको अवस्थामा प्राधिकरणले अब पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढ्ने दाबी गरेको छ । शुरुआती वर्षहरूमा नीतिगत, प्राविधिक, संरचनागत, कानूनी एवम् व्यवस्थापकीय प्रबन्ध मिलाउन केन्द्रित भएको र अब त्यो झन्झट नभएको भन्दै प्राधिकरणले अबको पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढ्ने बताएको हो ।

सरकारले तयार गरेको पीडीएनए प्रतिवेदनले पुनर्निर्माणको काम सम्पन्न गर्दासम्म ९ खर्बभन्दा बढी रकम आवश्यक पर्ने औंल्याएको थियो । सरकारले २०७२ असार १० गते गरेको दाता सम्मेलनमा ऋण र अनुदान गरी ४ खर्ब रकमको स्रोत जुटेको थियो । यी २ वर्षमा प्राधिकरणले ७१ अर्ब ५२ करोड रकम खर्च गरेको छ ।

प्राधिकरणका अनुसार अझै पनि ३० हजारभन्दा बढी लाभग्राहीले आफ्नो आवास बनाउन नसक्ने देखिएको बताएको छ । कार्यक्रममा उनले भने, ‘उक्त सङ्ख्याका जनताहरू जो एकल महिला, अपाङ्ग भएका व्यक्ति, वृद्धवृद्धा रहेका छन्, उनीहरूले घर बनाउन सक्ने अवस्था देखिएको छैन । त्यसलाई पूर्ति गर्नका लागि परोपकारी संस्थासँग सहकार्य गरी आवास बनाउने गृहकार्य गरिएको छ ।’

कार्यक्रममा प्राधिकरणका प्रवक्ता यमलाल भुसालले हालसम्मको कार्यप्रगति विवरण पेश गरेका थिए । प्राधिकरणका उपसचिव भीष्मकुमार भुसालले भारतले उपलब्ध गराउने घोषणा गरेको रकममध्ये अनुदानको रकम जनवरीको पूर्वार्द्धमा आउने जानकारी दिए । सङ्घीयताअनुसार स्थापना भएका स्थानीय निकायहरूका कारण पनि अबको पुनर्निर्माणको कामले गति लिने उनले बताए । कार्यक्रममा पुनर्निर्माणमा योगदान पुर्याअउने कर्मचारी, विभिन्न सङ्घ/संस्थालाई प्रशंसापत्र उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति: Dec 28, 2017

प्रतिक्रिया दिनुहोस्