Logo
१३ बैशाख २०८१, बिहीबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१६० मेगावाट विजुली ल्याउन कुलमानले गरे भारतसँग सम्झौता नवीकरण

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट ल्याइराखिएको १६० मेगावाट विजुली ल्याउन पुनः सम्झौता गरेका छन् ।

अनेक आशंकालाई चिर्दै घिसिङ नेतृत्वको टोलीले चैतसम्मका लागि अधिकतम् १६० मेगावाट परिमाणमै विजुली ल्याइराख्ने गरी भारतसँग सम्झौता गरेको हो ।

सो विद्युत् भारतबाट ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन हुँदै आउने छ । यसअघिकै सम्झौतालाई निरन्तरता दिन भारतलाई कुलमानले सहमत गराएका हुन ।

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतीय नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभीभीएन)का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरेका छन् ।

प्राधिकरणले स्वदेशी उत्पादनले धान्ने अवस्था नभएसम्म भारतबाट आवश्यक परिमाणामा विजुली ल्याउने योजना बनाएको छ । त्यसैअनुसार विद्युत् खरिद सम्झौता नवीकरणका विषयमा छलफल गर्न नेपाल प्राधिकरणको उच्चस्तरीय टोली भारतको राजधानी नयाँ दिल्ली पुगेको थियो ।

पुरानो सम्झौताअनुसार यही पुस १६ गतेदेखि यो सम्झौताको म्याद सकिँदै थियो । अब आगामी चैत १६ गतेसम्मका लागि सम्झौता अवधि लम्ब्याएर नवीकरण भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

ढल्केबर आइरहेको १६० मेगावाट बिजुलीको सम्झौता नवीकरण भएपछि प्राधिकरणलाई सुख्खायाममा पर्नसक्ने विजुली व्यवस्थापनको समस्याबाट केही राहत भएको छ ।

अब चैतसम्म सुख्खायामका नेपालका नदीमा पानीको सतह निकै कम हुने भएकाले भारतबाट विजुली आयातलाई निरन्तरता दिन अत्यावश्यक थियो । चैतबाट भने हिमनदीमा हिँउ पग्लिएर पानीको सहत बढ्नेछ ।

प्रकाशित मिति: Dec 28, 2017

प्रतिक्रिया दिनुहोस्