Logo
७ बैशाख २०८१, शुक्रबार
(December 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समानुपातिकमा पुरुष भन्दा महिलाको सम्भावना बढि

काठमाण्डौ : एमाले र माओवादीले समानुपातिकतर्फ पाएका सबै सिटमा महिला पठाउनु पर्ने सम्भावना बढ्दै गएको छ । कानुनी व्यवस्था अनुसार कूल सासंद संख्यामा ३३ प्रतिशत महिला हुनुपर्ने भएकाले उक्त प्रतिशत समानुपातिकबाट पूरा गर्नुपर्ने अवस्था सबैजसो दलको देखिएको छ । प्रत्यक्षतर्फ एमालेको करिब ८० को हाराहारीमा सांसद हुने देखिएको छ । तर, एमालेमा १,२ जन मात्रै निर्वाचित महिला सासंद हुने अवस्था छ ।

अहिलेको अवस्था हेर्दा समानुपातिकमा एमालेले ४० सिट पायो भने उसको कुल सांसद १२१ हुनेछ । कुल सांसद मध्ये ३३ प्रतिशत अर्थात ४० महिला हुनुपर्छ । तर, प्रत्यक्षबाट विजयी केही मात्र हुँदा बाँकी महिला समानुपातिकबाटै आउनेछन् । अर्थात एमालेले समानुपातिकमा पाउने सबै सिटहरु ३३ प्रतिशत महिला र्पुयाउँदैमा सकिनेछ ।

माओवादीको अवस्था पनि एमालेको जस्तै छ । माओवादीले समानुपातिकमा करिव १४ लाख भोट पाउने देखिन्छ । यदि उसले १५ सिट पायो भने कुल सांसद ५१ सिट हुनेछ । यसको ३३ प्रतिशत अर्थात १७ जना महिला हुनुपर्छ । तीनजना प्रत्यक्ष निर्वा्चित भएर आएकाले १४ जना महिला समानुपातिकबाट ल्याउनुपर्छ ।

अर्थात माओवादीको पनि समानुपातिक सांसद ३३ प्रतिशत महिला कोटा र्पुयाउँदैमा ठिक्क हुनेछ । समानुपातिकको बन्द सूचीमा रहेका पुरुषहरु सांसद हुनेछैनन् । भैहाले पनि एक जनासम्म होलान् । कांग्रेसको अवस्था भने केही फरक छ । कांग्रेसले समानुपातिकमा झण्डै एमाले सरह मत ल्याउने देखिन्छ । तर, प्रत्यक्षतर्फ २२ सिट मात्रै जितेकाले कुन निर्वाचित सांसदको संख्या निकै कम हुनेछ र त्यसको ३३ प्रतिशत मात्र महिला अनिवार्य भएकाले करिव आधा समानुपातिक सांसद मात्रै महिला बनाए पुग्छ ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीबाट ११० चयन हुनेछन् । समग्र सांसदमध्ये ३३ प्रतिशत महिला र्पुयाउनुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५२१ मतदाताले मत खसालेका छन् । जारी गणना हेर्दा २ देखि ३ प्रतिशत मत बदर हुने देखिन्छ । यदि ३ प्रतिशत मत बदर भयो भने सदर मत १ करोड २ लाख ६९ हजार बढी हुनेछ ।

अब यसमा तीन प्रतिशतको थ्रेस होल्ड लागू हुनेछ । कुद सदर मतको ३ प्रतिशत मतअनुसार ३ लाख ८ हजार बढी मत ल्याउने दल मात्रै समानुपातिक सिटका लागि योग्य हुनेछन् । यो थ्रेस होल्ड पार गर्न नसक्ने राजनीतिक दलहरुको कुल मत झण्डै १० लाख हुने अनुमान छ । यो मतलाई पनि कुल सदर मतबाट घटाइनेछ । अर्थात करिव ९२ लाख मत समानुपातिकका लागि योग्य मानिनेछ ।

अब ‘सेन्ट लग’ मेथड (मत विभाजन गर्ने सुत्र)बाट कुन दलले समानुपातिकमा कति सिट पायो भन्ने छुट्याइनेछ ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दलहरुले पाउने सिट संख्या छुट्याएपछि ३३ प्रतिशत महिला पुग्न कति महिला चाहिने रहेछ भनेर निर्वाचन आयोगले छुट्याउने छ । र, समानुपातिकमा पाएको कुल सिट मध्येबाट यति महिला पाठाउनुस् भनेर दललाई पठाइनेछ ।

नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै ढकालले महिलाको ३३ प्रतिशत सहभागिता अनिवार्य गराउनुपर्ने भएकाले समानुपातिकबाट त्यसको पूर्ति गर्नुपर्ने अवस्था रहेको बताए । “दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सुचिमा भए अनुसारका क्रमसंख्याका आधारमा सासंद चयन हुन कठिन देखिएको छ ।” ढकालले भने । क्रमभन्दा पनि महिलालाई प्रतिशतमा अगाडि ल्याउनका लागि क्रमभङ्ग गर्नुपर्ने ढकालले बताए । एक नम्बरमा रहेका पुरुष उम्मेदवारकोभन्दा २५ नम्बरमा रहेका महिला उम्मेदवारको सम्भावना बढि देखिएको ढकालले बताए ।

प्रकाशित मिति: Dec 13, 2017

प्रतिक्रिया दिनुहोस्