Logo
८ बैशाख २०८१, शनिबार
(December 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर मतगणना शुरू, बाम गठबन्धनको अग्रता

काठमाडौं ।  मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना शुरु भएको छ । अहिलेसम्म प्राप्त समाचारमा बाम गठबन्धनका उम्मेदवारहरु अगाडि रहेका छन् भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले थोरै मात्र स्थानमा अग्रता लिएका छन् ।

बिहीवार सम्पन्न दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनछिटपुट घटनाबाहेक उत्साहजनक र जनताको व्यापक सहभागितामा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहीवार सम्पन्न निर्वाचनमा ६७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ । ४५ जिल्लामा १ करोड २२ लाख ३५ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनेमा जम्मा ६७ प्रतिशत मतदाता मात्र मतदानमा सहभागी भएको आयोगको भनाइ छ । केही स्थानको तथ्याङ्क आउन बाँकी रहेकाले यो मत प्रतिशत बढ्न सक्ने आयोगले बताएको छ । पहिलो चरणमा ३२ जिल्लामा भएको मतदानका क्रममा ६५ प्रतिशत मत खसेको थियो ।

४५ जिल्लामध्ये गुल्मीमा सबैभन्दा धेरै ७१ प्रतिशत मत खसेको आयोगले बताएको छ । निर्वाचन भएकामध्ये दुई निर्वाचन केन्द्रको मतदान स्थगित गरिएको छ । अर्घाखाँची, सन्धिखर्क नगरपालिका, ५ मथुरा निमावि नेटा मतदानस्थलको (क) र (ख) गरी दुई मतदान केन्द्रमा मतदान अधिकृतले मतपत्रमा सही नगरेको भन्दै राजनीतिक दलका कार्यकर्ताले एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त मतदान केन्द्रको मतदान स्थगित गरिएको आयोगले बताएको छ । स्थगित भएको मतदान केन्द्रको निर्वाचन केही दिनभित्रै गर्ने व्यवस्था मिलाइने आयोगको भनाइ छ ।

बिहीवार मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनबाट संविधान कार्यान्वयन र सङ्क्रमणकालको अन्त्यका लागि महत्त्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरे । उनले भने, ‘मतदानमा उत्साहजनक रूपमा सहभागी मतदाता संविधान कार्यान्वयनलाई पूर्णता दिन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र मुलुकमा राजनीतिक स्थायित्व दिने कार्यमा नेपाली जनता प्रतिबद्ध रहेको स्पष्ट भएको छ ।’  नेपालको संविधानबमोजिम सबै निर्वाचन सकिएकाले अब संविधान कार्यान्वयन चरण शुरू भएको उनले बताए । निर्वाचनका लागि सरकारले गरेको सुरक्षा प्रबन्ध प्रभावकारी रहेका कारण निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको यादवले बताए ।

बिहीवार ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्पm २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान भएको हो । प्रतिनिधिसभाका लागि १ हजार ६ सय ६३ र प्रदेशसभाका लागि २ हजार ८ सय १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । बिहीवारको चुनावबाट प्रदेश र प्रतिनिधिसभा गरी ४ हजार ४ सय ८२ जना उम्मेदवारबाट जम्मा ३ सय ८४ सांसद चुनिएर आउनेछन् ।

मतगणना सहमतिमा
बिहीवार मतदान सम्पन्न भएलगत्तै सबैै मतपेटिका जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने काम भएको छ । सङ्कलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने र राजनीतिक दलका प्रतिनिधिहरूको सहमतिमा बिहीवार राति वा शुक्रवार बिहानबाट मतगणना गरिने आयोगले बताएको छ ।

कम खस्यो मत
तीन चरण गरेर २ महीनाअगाडि सम्पन्न स्थानीय तहको निर्वाचमा औसतमा ७३ प्रतिशतभन्दा बढी मत खसेकोमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जम्मा ६६ प्रतिशत मत खसेको छ । एकै वर्षमा तीनओटा निर्वाचन सम्पन्न भए पनि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आम मतदाताको उपस्थिति न्यून देखिएको हो ।

मङ्गलवार आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले दोस्रो चरणमा ७० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरे पनि त्यो पूरा हुन पाएन । प्राप्त तथ्याङ्कका आधारमा यो निर्वाचनप्रति मतदातामा खासै उत्साह नजगाएको देखिन्छ ।

यो निर्वाचनले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट सङ्घमा २ सय ७५ र प्रदेशसभामा ५ सय ५० सांसद चयन गर्नेछ । उनीहरूले केन्द्रीय र प्रदेश सरकार गठन गर्ने छन् । स्थानीय तहको निर्वाचन तीन चरण गरी यसअघि नै सम्पन्न भएकाले बिहीवारको निर्वाचन सम्पन्न भएसँगै देश संविधानको पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

३२ जिल्लामा मतगणना शुरू
दोस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै मङ्सिर १० गते ३२ जिल्लामा सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना बिहीवार ५ बजेबाट नै शुरू भएको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान भएको थियो । निर्वाचन आयोगले प्रत्यक्ष तर्फको बढीमा ४ दिन र समानुपातिक तर्फको बढीमा ८ दिनमा मतपरिणाम घोषणा गरिसक्ने गरी तयारी गरेको बताएको छ । यो समाचार तयार पार्दासम्मको स्थितिमा बाम गठबन्धनले अग्रता लिएको छ ।

प्रकाशित मिति: Dec 8, 2017

प्रतिक्रिया दिनुहोस्