Logo
६ चैत्र २०८०, मंगलबार
(October 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई/मधेशमा यसरी गुञ्जिँदै छ, सामाचकेवाको गीत (भिडियो सहित)

‘कौन भइया जेताह गंगा रे जमुना, कोन भइया लौते माइट रे माइट, बडका भइया जेता गंगा जमुना, छोटका भइया लौता माइट रे माई ।’ आजभोलि मिथिलाञ्चलका गाउँघर चौकचौराहा, घरघरमा यस्ता गीत गुञ्जिरहेको पाइन्छ । मिथिलाञ्चलभरी छठको खरनादेखि कार्तिक पूर्णिमासम्म मध्यरातिमा खेलिने सामाचकेवा पर्वका कारण यो गीत अहिले हरेकको मुखमुखमा झुण्डिएको छ । प्रायःजसो खाना खाएर साँझदेखि शुरु हुने यो खेल गाउँका युवती एवं महिलाले सामूहिक रुपमा खेल्छन् ।

कथानुसार द्वापर युगमा श्रीकृष्णकी छोरी सामाकी नोकर्नी डिहुलीले सामा वृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिसँग रमण गर्ने गरेको झुटो कुरा कृष्णसमक्ष लगाइएकी थिइन् । कृष्णले आवेशमा आएर सामा र बृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिए। सामाका भाइ साम्बले सो विषय थाहा पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरे ।

भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटाको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसका दाजुभाइ दीर्घायु हुने वरदान दिएकाले यो पर्व मनाउन थालिएको ‘भविष्यपुराण’मा उल्लेख छ ।

‘कार्तिके मास हो भइया समा लेलक अवतार, सामाचकेवा खेलव गे बहिना भइया जीवह हजार’ सामाचकेवा पर्वमा बहिनीले आआफ्ना भाइको गीतमार्फत प्रशंसा गर्छन् भने चुकलीवालीलाई बेइज्जत गर्छिन् । यस पर्वमा घरमा रहेका दिदीबहिनी सामाचकेवा खेल्नका लागि माइती आउने परम्परा छ तर वर्तमान परिवेशमा कार्य व्यस्तताका कारण दिदीबहिनीले घरमै यो खेल सामूहिक रुपमा खेल्ने गरेको गौशाला नगरपालिकाका रामप्रबोध सिंहले बताए ।

गाउँमा यो पर्व खेलिने भए तापनि शहरी एवं बजार क्षेत्रमा क्रमिक रुपमा हराउँदै गएको छ । आफ्नो संस्कार र संस्कृति र परम्परालाई जोगाउनका लागि हरेकले आआफ्ना क्षेत्रबाट भूमिका निर्वाह गरिनुपर्ने सिंहको भनाइ छ । छठको खरना मनाइने दिनमा घरघरमा माटाले निर्मित कलात्मक मूर्ति डालामा राखेर महिला चौवटिया (गाउँको खुला स्थान) मा जम्मा भएर नाचगान गरी सामूहिक रुपमा मैथिली लोकगीत गाउने यो पर्वको एक अलगै विशेषता छ ।

भोजपुरी र मैथिली भाषाका यस्ता गीतले मिथिलाञ्चल क्षेत्रलाई नै रोमाञ्चक बनाएका छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन प्रत्येक दिदीले आआफ्ना भाइलाई घरमा बोलाएर सामाचकेवालगायत मूर्ति फोर्न लगाउँछन् भने दाजुभाइले पनि स्वेच्छानुसार उपहार दिने चलन छ ।

‘वृन्दावनमे आइग लगेलै कोइ न मिझावै हे, हमरोके बडका भइया सुरेश भइया मिझावै ये’ काँचो माटाले बनाइएका मानव, चरा र जनावरलगायत मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगामा पकाएमा त्यसलाई ‘चकेवा’ भन्ने संज्ञा दिइन्छ । यस पर्व मनाउनका लागि प्रत्येकले आआफ्ना रंगीन डालामा सामाचकेवाका साथै सात वटा चरा पनि राख्छन् ।

पछिल्लो समयमा तराई–मधेश क्षेत्रमा जारी हिंसात्मक घटनाका कारण खुलेर पर्व मनाउन नपाएको शिक्षिका लीला सिंह बताउछिन् । ‘प्रायःमहिलाले मात्र साँझदेखि मध्यरातसम्म मनाउने यस पर्वमा पछिल्लो समयमा आएर केही न केही रुपमा रौनकतामा कमी आएको छ’, उनले भनिन् । धनवीर महतो, महोत्तरी

प्रकाशित मिति: Oct 29, 2017

प्रतिक्रिया दिनुहोस्