Logo
७ बैशाख २०८१, शुक्रबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोषीलाई कारबाही गर्ने सर्बपक्षीय सहमतिपछि विर्तामोडको तनाव साम्य

झापाको विर्तामोडमा बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि उत्पन्न तनाव साम्य भएको छ । स्थानीय प्रशासनको रोहबरमा शनिवार मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने तथा बालक हत्याको सुक्ष्म छानविन र गोली काण्डका दोषीलाई कारबाही गर्ने सर्बपक्षीय सहमति भएपछि तनाव साम्य भएको छ ।

गोली काण्डपछि स्थितिलाई सामान्य बनाउन सर्बपक्षीय बैठक बसेर सहमति भएको हो । शनिवार विहान भएको सर्बपक्षीय बैठकले मृतक थापाको परिवारलाई १० लाख राहत उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोध गर्ने तथा तत्कालिन राहतका लागि बिर्तामोड नगरपालिकाले २५ हजार, जिल्ला समन्वय समिति झापाले २५ हजार, र बिर्तामोड उद्योग वाणिज्य संघले १० हजार उपब्ध गराउने निर्णय गरेको छ । साथै मृतकको श्रीमतीलाई आवश्यक रोजगारीको ब्यवस्था सम्बन्धित नगरपालिकाले मिलाउने पनि निर्णय भएको छ ।

उक्त घटनाबाट घाइते हुने सबैलाई सरकारले निःशुल्क उपचारको ब्यवस्था मिलाउने, दुवै घटनाका दोषीलाई छानविन गरी कानून बमोजिम कारबाही गर्न गृह मन्त्रालयबाट गठित छानबिन समितिलाई सबै पक्षले सहयोग गर्ने लगायतको निर्णय सबै सर्बपक्षीय बैठकले गरेको छ । साथै इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रहरी नायव उपरीक्षक राजकुमार सिलवाललाई छानविन गरी प्रहरी नियमावली बमोजिम आवश्यक कारबाही गर्न सिफारिस गर्ने पनि निर्णय भएको छ ।

हिंसा भड्कन सक्ने आशंकामा प्रशासन कार्यालयले शनिवार पनि कर्फ्यु जारी नै राखेको छ भने स्थिति सहज बनाउन सम्बन्धित राजनीतिक दल, जनप्रतिनिधि, संघ संस्था, सञ्चारकर्मी तथा नागरिक समाजलाई अपिलसमेत बैठकले गरेको छ ।

गत असोज १४ गते हराएका अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटी १५ गते मृत भेटिएका थिए । उक्त घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै स्थानीयले शुक्रबार गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा ११ का ३० वर्षीय नरेश थापामगरको मृत्यु भएको थियो ।

प्रकाशित मिति: Oct 28, 2017

प्रतिक्रिया दिनुहोस्