Logo
१५ चैत्र २०८०, बिहीबार
(October 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चालकको लापरबाहीले नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी जाम

नारायणगढ–मुग्लिन सडकखण्डमा सडक बिग्रिएरभन्दा पनि चालकको लापरबाहीले गर्दा धेरै समय जाम हुने गरेको पाइएको छ । बीच बाटोमा गाडी रोकिँदा यात्रुले लामो समय लाममा बसेर यात्रा गर्न बाध्य हुनुपरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक राम्रो बनाएर र प्रहरीले सडक जाम हटाएर मात्र यो सडकखण्ड सहज बन्न नसक्ने देखिएको छ ।

चालकले सावधानी अपनाउन नसक्दा र नियमको पालना नगर्दा बढी मात्रामा जाम हुने गरेको हो । पहिरो र सडकका खाल्टाखुल्टीका कारणभन्दा धेरै गुणा चालकको लापरबाहीका कारण यो सडकमा सवारी चाप बढ्ने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त चालकले बेवास्ता गरिदिँदा सवारी जाम बढ्ने गरेको बताउनुहुन्छ ।

चालकले जहाँ पायो त्यहीँ उछिन्ने, दुई सवारीबीचको दूरी थोरै राख्ने, गाडी रोकेर धुने, खाना खाने, आराम गर्ने, रातको समयमा सुत्ने, सडक नजिक घर भएका चालकले सडककै छेउमा गाडी राखेर घर जानेजस्ता कारणले आवागमनमा निकै ठूलो समस्या पर्ने गरेको उहाँले बताउनुभयो । यो सडकखण्डमा १८ वटा पुल रहेका छन् जसको चौडाइ छ मिटरमात्र छ ।

पुलको दुवै मुखमा ठूला सवारी रोकिँदा दुवैतर्फ सवारी जाम हुने गर्छ । चालकले यसतर्फ कम ध्यान दिँदा पनि सवारी आवागमनमा समस्या आउने गरेको पन्तको भनाइ छ । यो सडक छिर्नुअघि चालकले सवारीको स्वरुप र यान्त्रिक स्थितिका बारेमा ध्यान नदिँदा पनि सडकको बीचमा सवारी बिग्रने र समस्या बन्ने गरेको छ ।

पन्तले भन्नुभयो, “यो सडकमा दैनिक १० भन्दा बढी सवारी साधन बिग्रने गर्छन् र त्यस्ता सवारीलाई पन्छाउन लाग्ने समयभर यातायात एकतर्फी मात्र सञ्चालनमा आउँछ । कतिपय ठाउँमा दुईतर्फी सडक नै अवरुद्ध हुने गर्छ ।” सडक एकतर्फी सञ्चालन भइरहँदा लाममा बसेका सवारीमध्ये कतिपयले उछिनेर अघि जाने र ती सवारी हटाउन नसक्दा दुईतर्फी नै सवारी आवागमन रोकिने पन्तको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापा सडक राम्रो भएर प्रहरीसमेत परिचालन हँुदा पनि चालकले लापरबाही गरिदिँदा यो सडकमा समस्या आउने गरेको बताउनुहुन्छ । जथाभावी उछिनी सवारी आवागमनलाई भद्रगोल बनाइँदा पनि समस्या उत्पन्न हुने गरेको उहाँको भनाइ छ ।

‘लाइफलाइन’ सडकका रुपमा रहेको यो सडक हुँदै दशैँ तिहारको समयमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आउजाउ हुन्छ जसमध्ये ७५ प्रतिशत यात्रुबाहक रहने गर्छन् । त्यसमा २५ प्रतिशत ढुवानीका साधन हुने गर्छन् । यिनीहरुले तराई र भारतबाट दैनिक उपभोग्य सामान ओसार्ने गर्छन् ।

राजधानी काठमाडौँका जनतालाई पाल्ने र त्यहाँ जाने आउने जनता आवतजावत गर्ने मुख्य मार्ग भएकाले यो सडकलाई सरकारले लाइफलाइन सडकका रुपमा प्राथमिकतामा राखेको छ । नारायणगढबाट ३६ किलोमिटर लामो यो सडकको सात किलोमिटर क्षेत्र मात्र कालोपत्रे भएको छ भने अन्य क्षेत्रका सडकमा खाल्टाखुल्टी रहेका छन् ।

हाल यो सडकका चार ठाउँमा बेसक्याम्प निर्माण गरी तत्काल उद्धार र पुनः मर्मतमा खटिने टोली तयारी अवस्थामा राखिएको छ । ठूला उपकरणसहित प्रहरीको नेतृत्वमा मुग्लिनमा, मुग्लिनबाट तीन किलोमिटर पर कालीखोला, मुग्लिनबाटै नौ किलोमिटर पर नारायणगढतर्फ र १२ किलोमिटर सेतीदोभानमा क्याम्प निर्माण गरी सवारी आवागमन सहजीकरण गर्ने काम भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार ठेकेदारले आ–आफ्नो क्षेत्रमा खाल्टाखुल्टी पुर्ने, धुलो उडेका ठाउँमा पानी छर्कने, पहिरो खसेका ठाउँमा पहिरो पन्छाउने, सम्भव भएका ठाउँमा कालोपत्र गर्ने काम गरिरहेका छन् । यो सडकको हालसम्म ५५ प्रतिशत काममात्र सम्पन्न भएको भए पनि प्रदेश नं २ को निर्वाचन, दशैँ, तिहार र छठलाई ध्यानमा राखेर यातायात सहज बनाउने काममात्र भइरहेको छ । रासस

प्रकाशित मिति: Sep 14, 2017

प्रतिक्रिया दिनुहोस्