Logo
१३ बैशाख २०८१, बिहीबार
(August 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी पीडितलाई ५ लाख सहुलियत ऋण दिनुपर्ने एमालेको माग

काठमाडौं : एमालेले तराईका बाढी पीडितलाई भूकम्प पीडित सरह आवास निर्माण गर्न ३ लाख रुपैयाँ अनुदान र ३ लाख रुपैयाँ सहुलियत दिन माग गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गएको एमाले टोलीले ५ बुँदे ज्ञापनपत्र बुझाउँदै बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई ५ लाख रुपैयाँ र बाढी पीडितलाई एक लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउन पनि माग गरेको छ ।

५ बुँदे ज्ञापनपत्रमा बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न समेत माग गरिएको छ । एमालेको ज्ञापनपत्रमा बाढी प्रभावित परिवारलाई २ लाख रुपैयाँ सहुलियत ऋणको ब्यवस्था गरी जीविकोपार्जनको ब्यवस्था गर्न समेत माग गरिएको छ । यस्तै क्षतिको तथ्यपरक विवरण संकलन गर्न हरेक जिल्लामा केन्द्रीय कार्यदल खटाउने र बालीनाली पशुपंक्षीको क्षतिको विवरण समेत संकलन गर्नु पर्ने एमालेको ज्ञापनपत्रमा छ । बाढीबाट क्षतिग्रस्त पुल, सडक र अन्य भैतिक पूर्वाधार निर्माण गर्न विशेष कार्यक्रमको घोषणा गर्न समेत एमालेले माग गरेको छ ।

एमालेले बाढी पीडितको राहतका लागि आफ्नो पार्टीले गर्ने कामबारे पनि प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र मार्फत अवगत गराएको छ । पार्टी महासचिवको नेतृत्वमा उद्धार तथा राहत संयोजन समिति गठन गर्ने, पार्टीका जिल्ला इन्चार्जहरुको संयोजकत्वमा हरेक जिल्लामा १ हजार जनाका दरले स्वयंसेवक खटाएर पुनस्र्थापनाका लागि सहयोग गर्ने, पीडितहरुको राहतका लागि कोष खडा गर्ने र उठेको रकम प्रभावित क्षेत्रमा वितरण गर्ने, प्रभावित क्षेत्रमा हुन सक्ने महामारी रोक्न पार्टीको स्वास्थ्य विभागले स्वास्थ्यकर्मी तथा औषधी सहितको टोली परिचालित गर्ने, पहाडी र हिमाली जिल्लाका पार्टी कार्यकर्ताहरुलाई तराईका जिल्लामा राहत तथा पुनस्र्थापनामा खटाउने र पार्टीका केन्द्रीय निकायका सदस्य तथा सांसदहरुको एक महिनाको पारिश्रमिक राहतस्वरुप प्रदान गर्ने एमालेले प्रधानमन्त्री देउवालाई जानकारी गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेट्न गएको टोलीले बाढीबाट पीडित र प्रभावितहरुको उद्धार, राहत र पुनस्र्थानामा भएको ढिलाईप्रति आपत्ती जनाएको छ । अध्यक्ष ओलीले नेतृत्व गरेको टोलीमा महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रमुख सचेतक भानुभक्त ढकाल, नेता राजेन्द्र पाण्डेसहितको सात सदस्यीय प्रमण्डलले प्रधानमन्त्री देउवालाई भेटेको थियो ।

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्