Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशस्तरमा होटल उद्योगको विकासबारे छलफल

काठमाडौं । मुलुक संघीयतामा प्रवेश गरेपछि प्रदेशमा होटल क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले होटल सङ्घ नेपालले सम्बन्धित क्षेत्रका व्यवसायीसँग छलफल शुरु गरेको छ । प्रदेशअन्तर्गत रहेका होटल उद्योगको विकास र विस्तारका लागि सङ्घलाई पनि प्रादेशिक संरचनामा लैजान र उसको भूमिकालाई थप प्रभावकारी बनाउन छलफल थालिएको हो ।

प्रदेश नं ५ को नेपालगञ्ज (बाँके)मा होटल क्षेत्रमा लगानीको सम्भावना र व्यावसायिक दायित्वबारे क्षेत्रीयस्तरमा अन्तरक्रिया गरिएको नेपाल होटल सङ्घ (हान)का महासचिव विनायक शाहले जानकारी दिनुभयो । प्रदेशमा आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्र भएको र होटल व्यवसायबाट चाँडो प्रतिफल आउने भएकाले ती क्षेत्रमा लगानीको अवस्था के छ र सरकारको भूमिका कस्तो हुने हो भन्नेबारे छलफल भएको उहाँले बताउनुभयो ।

सङ्घले विधान संशोधन गरेर प्रादेशिक संरचनाअनुरुप बनाउने आफ्नो योजना र लगानीको अवसरबारे सरकारलाई अवगत गराइसकेको हानले जनाएको छ । बाँके, बर्दियालगायत क्षेत्रका होटल तथा पर्यटन व्यवसायीको भेलाबाट होटल स्नेहाका सञ्चालक असितशम्शेर जबराको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय होटल सङ्घ नेपालगञ्ज तदर्थ कार्यसमिति गठन गरिएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।
उक्त भेलामा महासचिव शाहले होटल उद्योगको सम्भावना र चुनौतीका विषयमा प्रकाश पार्नुभयो भने कोषाध्यक्ष सुनिल शाक्यले वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै हालको विमानस्थल व्यवस्थापनको सुधारमा जोड दिनुभयो ।

सङ्घको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २४ गते सङ्घका अध्यक्ष अमरमान शाक्यको अध्यक्षतामा नेपालगञ्जमा सम्पन्न भएको थियो । होटलहरुको छाता संगठन होटल सङ्घ नेपालले विगत पाँच दशकदेखि होटल तथा समग्र पर्यटन उद्योगको विकास र उत्थानका लागि सक्रिय भूमिका खेल्दै आएको छ । यसैबीच हानले सीमा पर्यटनको विकासबारे प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गर्नुअघि उहाँलाई भेटेर जानकारी गराउने भएको छ ।

हानका अनुसार ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लगायत संस्थासँग भोलि शुक्रबार छलफल गरी नेपाल–भारत पर्यटन प्रवद्र्धनबारेको अवधारणा पत्रलाई प्रधानमन्त्रीलाई बुझाइने छ । सरकारी विवरणअनुसार अहिले मुलुकभर एकहजार दुई सय भन्दा बढी होटल रहेका छन् । अहिले होटलको शय्या संख्या ४० हजार रहेको छ । रासस

प्रकाशित मिति: Aug 10, 2017

प्रतिक्रिया दिनुहोस्