Logo
१२ बैशाख २०८१, बुधबार
(May 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कलाकारको अनुभवः ‘मतपत्र सिनेमाको पोस्टरजस्तो’

काठमाडौं, ०१ जेठ : झण्डै बीस वर्षपछि आइतबार भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सर्वसाधारणझैं कलाकारहरूले पनि उत्साहजनक मतदान गरेका छन् । चर्को घाममा लाइन बसेर मतदान गर्दा उनीहरूमा उत्साह थियो नै, मतदान गर्ने मतपत्र देख्दा अत्यास पनि उस्तै थियो । निर्देशक तथा कलाकार निर्मल शर्माले फेसबुकमा स्ट्याटस लेखेर नै मतपत्रप्रति असन्तुष्टि जनाए । ‘भोट त हालियो तर लामो समयपछिको चुनावको मतपत्र यति गोलमाल रैछ कि मेरो त दिमाग नै चकरायो । ४० प्रतिशत बदर हुने देखें मैले त’ फेसबुकमा तस्बिरसँगै उनले लेखेका थिए ।

मतपत्र, घामपानीको बेवास्ता गर्दै मतदाता नामावलीमा नाम भएका थुप्रै कलाकारले भोट खसाले । केही भोट खसाल्न भनेर राजधानीबाट गाउँसम्म गए भने कोही विदेशबाट नेपाल फर्किए । गायिका आस्था राउतले भोट हाल्नकै लागि विदेश यात्रा छोट्याएको बताइन् ।

भक्तपुरको बालकोट मतदान केन्द्रमा श्रीमती रमिला, छोरा मोहितवंशसँगै पुगेका हाँस्य कलाकार हरिवंश आचार्य मतपत्र देख्दा तर्सिए । अनुमान गरेभन्दा ठूलो पोस्टर देखेपछि उनलाई मतपत्र पनि सिनेमाको पोस्टरजस्तो लाग्यो । ‘मतपत्र त सिनेमाको पोष्टरजस्तै ठूलो थियो । हाम्रो देशमा दलहरू पनि धेरै भएर होला मतपत्रमा दलका चिह्न पनि उति नै बढी रैछन्,’ हरिवंशले नागरिकसँग भने, ‘नेताहरू धेरै भएपछि मतपत्रले पनि आकार ठूलो बनाएछ । पहिलाको निर्वाचनमा दल पनि थोरै थिए । त्यहीअनुसार मतपत्र पनि सानो थियो ।’ उनले मतपत्रमा रहेका दलको चुनाव चिह्नकै कारण धेरै मतपत्र खेर जान सक्ने अनुमान लगाए ।

अघिल्लो स्थानीय निकायको निर्वाचनमा घट्टेकुलोमा मतदान गरेका हरिवंश स्थानीय सरकारलाई संसदभन्दा पनि बलियो संस्था मान्छन् । ‘भूकम्पको समयमा स्थानीय सरकार रहेको भए केन्द्रीय सरकारले भन्दा बढी काम गर्न सक्थ्यो । ढिलै भए पनि हामीले स्थानीय नेतृत्व चुन्दैछौं,’ उनले भने, ‘अबको नेतृत्व बेइमानी नगर्ने किसिमको हुनुपर्छ । फेरि बेइमान गर्ने नेतृत्व आयो भने देशको हित हुँदैन ।’

 

शुक्रबारसम्म आस्था राउत सांगीतिक कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा थिइन् । २० वर्षपछि चुनाव हुन लागेको थाहा पाएकी आस्था चुनावमा भोट हाल्नकै लागि शनिबार नेपाल आएकी थिइन् । उनले काठमाडौंको थापागाउँस्थित एक विद्यालयको मतदान केन्द्रमा भोट हालेको बताइन् । ‘मतपत्र पनि ठूलो रहेछ । त्यसैले मैले उम्मेदवार छानेर सातजनालाई भोट हालें । सामाजिक सञ्जालमा मेयर र उपमेयरको मात्र कुरा सुनेको थिएँ । तर, भोट हाल्न जाँदा त वडाध्यक्षदेखि सदस्यसम्म रहेछ,’ आस्थाले भनिन्, ‘मतपत्रमा स्वतन्त्र उम्मेदवार पनि धेरै देखें । उम्मेदवार हुनु राम्रो हो तर धेरै उम्मेदवार हुँदा मतदातालाई अन्योल बनाउँछ । सीमित उम्मेदवार भएमा मात्र उपयुक्त व्यक्ति छान्न सजिलो हुन्छ ।’ आस्थाले २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनमा पनि मत खसाएकी थिइन् ।

अभिनेत्री वर्षा सिवाकोटीले पनि स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरिन् । दिउँसोको समयमा आमासँग सीतापाइलामा रहेको मतदान केन्द्रमा भोट हाल्न पुगेकी उनले मतपत्र सजिलो लागेको बताइन् । ‘मतपत्र लामो भए पनि त्यहाँ स्वस्तिक चिह्न लगाउने ठाउँ ठूलै रहेछ । यसपटकको निर्वाचन व्यवस्थित किसिमको पाएँ । सुरक्षाको प्रबन्धदेखि मतदानस्थल पनि व्यवस्थित थियो ’उनले भनिन् ।

नायिका रेखा थापाले चाबहिलस्थित पशुपति क्याम्पस, कलाकार दीपकराज गिरीले चन्द्रागिरी, अभिनेता आर्यन सिग्देलले थानकोट, अभिनेत्री सुरबिना कार्कीले सिन्धुलीको सिन्धुलीमाडी, गायक राजेशपायल राईले शान्तिनगर, अभिनेता राजेश हमालले लैनचौर, हास्य कलाकार मनोज गजुरेलले बालकोट, केकी अधिकारीले जोरपाटीको केन्द्रमा मतदान गरे ।

प्रकाशित मिति: May 15, 2017

प्रतिक्रिया दिनुहोस्