Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालबाट समातिएका बबलुको अदालत परिसरमै हत्‍या  

एजेन्सी,  नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका भारतीय अपराधी बबलु दुवेको बिहारको बेतियास्थित अदालत परिसरमै गोली हानी हत्‍या गरिएको छ । उनीमाथि हत्‍या, बलात्कार लगायत ५० बढी सार्वजनिक अपराधको मुद्दा लागेको भारतीय सञ्‍चार माध्‍यमले जनाएको छ ।
बेतिया प्रहरीका अनुसार बबलू दूबेलाई अदालतमा पेसीको लागि लैजाँदै गर्दा हतियारधारी समूहले अदालत परिसरमै गोली हानी हत्‍या गरेका हुन् । उनीहरुले बबलुलाई अदालत परिसरमै निसाना बनाएर लगातार पाँच गोली हानेका थिए जसले घटनास्थलमै उनको मृत्‍यु भयो ।

पश्‍चिम चम्पारनका प्रहरी निरीक्षक विनय कुमारले प्रत्‍यक्ष दर्शीलाई उद्दृत गर्दै तीन चार वटा आपराधिक समूहले गोली चलाएको जिम्मा लिएका हुन् । उनले बबलुमाथि नजिकबाट गोली हानिएको बताउँदै गोली हान्‍नेको खोजी भइरहेको बताएका छन् ।

चार वर्षअघि नेपालमा पक्राउ गरी भारतलाई बुझाइएको बब्लु दुवेको आज हत्या भएको हो । भारतको मोस्ट वाण्टेडको सूचिमा रहेका बब्लुलाई भारतको बेतिया अदालतमा पेसीका लागि लगिरहेको बेला अज्ञात समूहले गोली हानी हत्या गरेको भारतीय सञ्चारमध्यमले जनाएको छ । नेपाल प्रहरीले २०७० जेठ १५ गते सीतापाइलाको एक गेस्ट हाउसबाट बब्लुलाई पक्राउ गरेको थियो ।

भारत सिसुवाथान पूर्वी मोतिहारीका ३४ वर्षीय दुबे नेपाल छिरेको खबर भारत प्रहरीले नेपाल प्रहरीलाई दिँदा नारायणी अञ्चलका तत्कालिन एसएसपी सर्वेन्द्रनाथ खनालको नेतृत्वमा आएको टोलीले आठ महिनापछि पक्राउ गरेको थियो । बब्लु दुबेले भारतको विभिन्न ठाउँमा आपराधिक घटना गरी नेपालमा लुकेर बस्दै आएका थिए । दुबे पहिलो पटक सन् २००१ भारतकै शिवशंकर दुबेलाई छुरा प्रहरी गरी मार्ने प्रयास गरेको अभियोगमा जेल सजाय काटिसकेका छन् भने सन् २००२, २००५, २००७, २००९ मा पटक पटक बैंक लुटपाट तथा हत्याको मुद्दामा पक्राउ १० वर्ष जेल सजाय काटिसका थिए ।

पक्राउ परेका अपराधिक बब्लु दुबेले भारतको जेलमा रहँदा अपराधिक व्यक्तिहरुसँगग मिलेर नेपालका उद्योगीहरुलाई फोन गरेर समेत चन्दा असुल्ने गरेको बताइन्छ । वीरगञ्जका उद्योगी सुरेश केडियालाई उनै बब्लु दुबेले अपहरण गराएको आरोप थियो । पछि भारतीय प्रहरीले दुवेलाई दवाव दिएपछि केडिया अपहरण मुक्त भएका थिए । त्यतिबेला वारा, पर्सा र मकवानपुरसम्मका व्यपारीमा बब्लुको आतङ्क नै थियो । त्यहाँका व्यपारीहरुले बब्लुको नामबाट आएका फोन नम्बरसहित प्रहरीलाई उपलब्ध गराएका थिए ।

नेपालमा उसको कुनै अपराध ठहर नभएपछि २०७० जेठ २१ गते भारतीय प्रहरीको जिम्मा लगाएको थियो । दुबेलाई भारत, विहार राज्यको मोतिहारी जिल्लाका एसपी विनय सिंहको नेतृत्वमा आएको टोलीले लिएर गएको थियो । आपराधिक समूहलाई नेतृत्व दिँदै आएका उनी भारतीय प्रहरीको कुख्यात अपराधीको लिस्टमा थिए । रासस

प्रकाशित मिति: May 11, 2017

प्रतिक्रिया दिनुहोस्