Logo
७ बैशाख २०८१, शुक्रबार
(May 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपहरित ८२ बालिका मुक्त बोको हरामबाट मुक्त

लागोस,   इस्लामिक उग्रवादी समूह बोको हरामद्वारा अपहरित नाइजेरियाको एक विद्यालयका कम्तीमा ८२ बालिकालाई अपहरणमुक्त गरिएको छ । नाइजेरिया सरकार र बोको हरामका प्रतिनिधिका बीचमा वार्ता चलिरहेका बेला बालिका अपहरणमुक्त भएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।

सन् २०१४ मा उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २७० विद्यार्थीमध्ये ८२ जना अपहरणमुक्त भएका हुन् । “हो, उनीहरु अपहरणमुक्त भएका हुन्, बोर्नो राज्यको बान्की सहरमा पुग्नका लागि उनीहरु अबुजाबाट हवाईजहाजमा गएका छन्,” एक अधिकारीले भने ।

बोको हरामको अपहरणमा परेका बालिकालाई छुटाउनका लागि राष्ट्रपति मुहामदु बुहारीको प्रशासनले स्थानीय र अन्तर्राष्ट्रिय मध्यस्तकर्ताको सहयोगमा लामो समयदेखि वार्ता गरिरहेको थियो । रातको समय पारेर गरिएको उक्त अपहरणको अन्तर्राष्ट्रिय क्षेत्रबाट चर्को आलोचना भएको थियो ।

राष्ट्रपति बुहारीले सरकारले निरन्तर वार्ता गरिरहेको र अपहरण गरिएका बालिकालाई सुरक्षितरुपमा रिहा गराइ छाड्ने अघिल्लो महिना बताएका थिए । उहाँले अरु बालिकाको बारेमा पनि आशा नमार्न उनीहरुका बाबुआमालाई आग्रह गर्नुभएको छ । सन् २०१६ को अक्टोबरमा पनि अरु २१ जना बालिकालाई अपहरणमुक्त गराइएको थियो ।

सन् २००९ बाट बोको हरामले नाइजेरियामा द्वन्द्व सुरु गरेदेखि अहिलेसम्म करिब २० हजारभन्दा बढी मारिएका छन् लाखौँ मानिस विस्थापित भएका छन् । अपहरण गरिएका अधिकांश बालिका इसाई धर्मावलम्बी थिए । उनीहरुलाई इस्लाम धर्मावलम्बी बन्न र बोको हरामका सदस्यसँग बिहे गर्न दबाब दिइएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: May 7, 2017

प्रतिक्रिया दिनुहोस्