Logo
१५ चैत्र २०८०, बिहीबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिडियो: उपराष्ट्रपतिको नजरमा नारायणगोपाल

काठमाडौं । स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यज्यूको भौतिक शरिर आज हामी माझ छैन । तर, उहाँ प्रत्येक नेपालीको मुटुमा ढुकढुकी बनेर बसिरहनु भएको छ । उहाँ साँच्चीकै कालजयी हुुनुहुन्छ ।

अजर अमर हुनुहुन्छ । हामी सबै नेपालीको मुटुको ढुकढुकी श्रद्धय नारायणगोपालको २६ औँ स्मृति सभामा यहाँहरुसँगै उपस्थित भई नारायणगोपालप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्न पाउँदा ज्यादै गौरवाम्बित भएको छु ।

यो स्मृति समारोहमा नारायणगोपालका विभिन्न कालजयी गीतहरुको सांगीतिक ‘स्वरलिपि’को विमोचन गर्न पाउँदा अन्यन्त खुशी लागेको छ । म स्वर सम्रात नारायणगोपालको ‘स्वरलिपि’ प्रकाशनका लागि प्रकाशक संस्थाह नेपाल कला सँस्कृति विकास केन्द्र र भ्वाईस आर्ट एकेडेमीलाई हृदयदेखि नै धन्यवाद दिन चाहान्छु । मलाई विश्वास छ, यो प्रकाशनले नारायणगोपालको गीतलाई अझै अन्तर्राष्ट्रियकण गर्न मद्दत पुग्नेछ ।

भिडियो :-

नेपाल कला संस्कृति विकास केन्द्रले स्वर सम्राट नारायणगोपालको २६ औँ वार्षिक स्मृतिमा नारायणगोपाल चोकमा आयोजना गरेको ‘श्रद्धाञ्जली तथा सााङ्गीतिक कार्यक्रम’मा  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गरेको सम्बोधन

भद्र महिला तथा सज्जन वृन्द
हामी आज यो नारायणगोपाल चोकमा जम्मा भएर उहाँलाई सम्झिरहेका छौँ । मैले यहीं समारोहमा वरिष्ठ व्यक्तित्वहरुबाट उहाँको बारेमा केहीं कुरा सुन्ने अवसर पाएँ । हिजोको एउटा छापामा नारायणगोपालसँग सम्बन्धित वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाजीको संस्मरण पढेको थिएँ । यो समारोहमा बस्दा बस्दै वरिष्ठ कलाकार साथीहरुको स्वरबाट स्वर सम्राट नारायणगोपालको गीतहरु सुन्ने अवसर पाएँ ।

यी कुराबाट मात्रै पनि हामी निशंकोच भन्न सक्छौँ की नेपाली सुगम संगीतमा स्वर सम्राट नारायणगोपाल बिनाको इतिहास सधै अपुरो रहन्छ । किनकी उहाँ नेपाली संगीत आकाशमा कहिल्यै नअस्ताउने घाम हुनुहुन्छ । उहाँका स्वरहरु कहिल्यै नझर्ने तारा बनेका छन् । तर, दुर्भाग्य, प्रकृतिको लिला उहाँजस्ता मुर्धन्य व्यक्तित्वलाई हामीले बचाउन सकेनौँ । २०४७ साल मंसिर १९ गते आजैको दिन उहाँको भौतिक शरिरलाई सदाका लागि विदा गयौँ ।

एक चरण नेपालमा पाश्चात्य सँस्कृतिको आक्रमण तथा गीत संगीतमा पश्चिमाहरुको प्रभाव थियो । ती आक्रमण र प्रभावलाई निश्तेज पार्न नारायणगोपालले नेपाली सुगम संगीतमा एउटा नयाँ यूग भित्र्याउनु भएको कुरा आज विशेष स्मरणीय र मननयोग्य छ । विभिन्न समयको माग अनुसार परिवर्तनको संघारमा उभिइरहेको नेपालमा उहाँले प्रेम, जीवन, जगत, जागरण र राष्ट्रनिर्माणका गीतहरुबाट बिगुल फुक्ने काम गर्नुभयो । जागृति, जीवन, प्रेम, वियोग र देशभक्तिको सिरामा आफ्नो स्वरलाई एकैचोटि बगाईदिने यी स्वरप्रवीण, एउटा युगबोधी क्रान्तिकारी गायक हुन् भन्दा अतिशयोक्ति नहोला ।

नारायणगोपालको स्वरमा भएको प्राणले नै नेपाली सुगम संगीतलाई युगौँयुग बाँच्ने जीवन प्रदान गरेको हो भन्ने कुरामा कुनै दुईमत छैन । शब्द छनौट र गीतको भाव अध्ययन गरेर मात्र गाउने नारायणगोपाल हरेक नेपालीको मुटुमा ढुकढुकी भएर बाँचिरहनु भएको छ । उहाँको गीतहरु आज पनि उत्तिकै सान्दर्भिक छन् । म अझै पनि अनुकुलता मिलेसम्म उहाँको गीतहरु सुन्ने गरेको छु ।

भद्र महिला तथा सज्जन वृन्द

नारायणगोपालको रेकर्डमा नआएको थुप्रै गीत संगीत छन् होला । ती गीत संगीतलाई बाहिर ल्याउन जरुरी छ । तर, स्वर सम्राट नारायणगोपालका रेकर्डमा नआएका गीत संगीतलाई बाहिर ल्याउनु उत्तिकै चुनौतीपूर्ण र जटिल कार्य हो, त्यसमा पनि नारायणगोपालको जस्तै रोजाईका शब्दहरु भरेर उहाँको संगीतलाई न्याय दिनु अझै कठिन काम हो । यस्तो कठिन कामलाई पनि सहज ढंगले स्वरसम्राटकै संगीत स्वादलाई कायम राखी, गीत संगीतको गुणलाई खस्किन नदिई, नयाँ गीतलाई आजकै दिन लोकार्पण गर्नुभएकोमा यस गीतका रचनाकार, संगीत संयोजक तथा गायकलाई धन्यवाद प्रकट गर्न चाहान्छु ।

नेपाली सुगम संगीतको विकास, नारायणगोपालको सम्मानका लागि पनि उहाँका गीत संगीतको संरक्षण सम्बद्र्धन गर्न जरुरी छ । तर स्वर सम्राटका अजर अमर गीत–संगीतहरुको पर्याप्त मात्रामा संवद्र्धन र प्रवर्धनमा कमी भएको हो कि भन्ने भान भएको छ । यसो हुन दिन हुँदैन ।

नारायणगोपाल एकजना व्यक्ति मात्रै होइन, उहाँ अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला संस्कृतिलाई फैलाउने एक संवाहक हुनुहुन्छ । यस्ता राष्ट्रका सम्पत्तिलाई युगौंसम्म बचाई राख्न हामी सबैले आ–आफ्नो तह र तप्काबाट पहल गरिरहनु पर्दछ । भबिष्यमा नेपाली कला संस्कृति तथा गीत–संगीतको उत्थानका निम्ति राज्यको तर्फबाट अझै बढी जिम्मेवारी बोध हुनेछ भन्ने अपेक्षा लिएको छु । यस्ता राष्ट्रका निधीलाई सधै उच्च स्थानमा राखि राख्नुपर्दछ ।

प्रकाशित मिति: Dec 5, 2016

प्रतिक्रिया दिनुहोस्