Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक व्यक्तिले एक क्षेत्रमा मात्रै उम्मेदवारी दिन पाउने

Nepal, Kathmandu, Bahadur Bhawan, Ancient Royal Palace

काठमाडौं । अब एक व्यक्तिले एक क्षेत्रमा मात्रै उम्मेदवारी दिन पाउने भएका छन । निर्वाचन आयोगले समानुपातिक कोटाबाट सांसद छान्दा दलका नेताहरूले प्रयोग गर्दै आएको तजबिजी अधिकार कटौतीे समेत प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले तयार गरेको कानुनको प्रारम्भिक मस्यौदामा निर्वाचनअघि दलले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीको प्राथमिकताक्रम अनुसार विजयी उम्मेदवार घोषणा गर्ने प्रावधान राखिएको छ ।

दलले देशभरबाट प्राप्त गर्ने मत प्रतिशतका आधारमा पाउने समानुपातिक कोटा निर्धारण हुन्छ । कुनै पनि दलले शतप्रतिशत मत प्राप्त गर्ने सम्भावना नभए पनि समानुपातिकतर्फको पुरै सिटमा उम्मेदवार तय गरी आयोगमा बन्दसूची बुझाउन पाउँछन् ।

संविधानसभाका दुई निर्वाचनमा समानुपातिक सिटमा बन्दसूचीभित्रका उम्मेदवारमध्येबाट दलले नै जोसुकैलाई विजयी उम्मेदवार छान्न पाउने प्रावधानको व्यापक दुरुपयोग भएको थियो ।

तीमध्येबाट विजयी उम्मेदवार छान्दा दलका शीर्ष नेता र केन्द्रीय समितिका प्रभावशाली सदस्यले आफूअनुकूल र स्वार्थपूर्ति गर्ने व्यक्तिलाई छनोट गर्न सजिलो हुन्थ्यो ।

समानुपातिक कोटाका लागि ठूलो आर्थिक चलखेल भएको विवरण सार्वजनिक भए पनि राज्यका आधिकारिक निकायबाट त्यसको छानबिन भएको छैन ।

आयोग प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार संविधानले व्यवस्था गरेको समानुपातिक, समावेशी प्रतिनिधित्वको व्यवस्था लागू गर्न बन्दसूचीलाई ‘फिक्स’ गर्ने प्रस्ताव गरिएको हो ।

संघीय संसद्मा कम्तीमा एक तिहाई महिला प्रतिनिधित्व सुनिश्चित गर्ने संवैधानिक प्रावधानका कारण समानुपातिक सूचीको रोलक्रम अनुसार उम्मेदवार विजयी हुने प्रावधानमा पनि अपवादको अवस्था भने आउन सक्छ ।

संघीय संसदको कुल सदस्य संख्याको एक तिहाई महिला पुर्‍याउन प्रत्यक्षतर्फबाट अपुग हुने संख्या पनि समानुपातिक तर्फबाट क्षतिपूर्ति गर्नुपर्छ ।

विगतका निर्वाचनमा प्रत्यक्षतर्फ दस प्रतिशतभन्दा कममात्रै महिला उम्मेदवार विजयी भएका छन् । प्रारम्भिक अवस्थामा रहेको निर्वाचन कानुनको मस्यौदालाई दलका प्रतिनिधिसहित मुख्य सरोकारवालासँगको छलफलका आधारमा परिमार्जन गरी अन्तिम रूप दिने तयारी आयोगको छ ।

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्