Logo
११ बैशाख २०८१, मंगलबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस आन्दोलनका ‘हत्या’ आरोपीलाई उन्मुक्ति नदिन आग्रह

Madhesh-andolan

वीरगन्ज । मधेस आन्दोलन क्रममा विस्थापितलाई फर्काउने बहानामा कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई मधेसी मोर्चाले सरकारमार्फत उन्मुक्ति दिलाउने प्रयास गरेको बताउँदै पीडित परिवारले आपत्ति प्रकट गरेका छन् । पछिल्लो मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका क्रममा कात्तिक १० गते बिहान वीरगन्ज २६ का रामविनेशप्रसाद कुशवाहालाई इन्धन तस्करी आरोपमा मोर्चाका कार्यकर्ताले कुटेर हत्या गरेका थिए । कुशवाहाले ट्यांकीबाट पेट्रोल खन्याउन नमान्दा कुटपिट गरिएको थियो ।

प्रहरी अनुसन्धानले जगरनाथपुरका अमर यादवलगायत समूहले हत्या गरेको खुलेको थियो । हत्या आरोपमा पक्राउ परेका यादव अहिले पुर्पक्षका लागि वीरगन्ज कारागारमा छन् । उनका ६ सहयोगी फरार छन् । ३५ वर्षीय यादव संघीय समाजवादी फोरम नेपालका गाउँ कमिटी अध्यक्ष थिए । कुटपिटबाट कुशवाहको ज्यान गएपछि घटनास्थलभन्दा केही दूरीमा शव फालेको उनको बयानमा उल्लेख छ । वीरगन्जको सिर्सिया बन्दरगाह–परवानीपुर सडकको जगरनाथपुर चोकबाट एक सय मिटर उत्तरपट्टि खेतमा कुशवाहाको शव फेला परेको थियो ।

सीमावर्ती ग्रामीण नाकाबाट सोही सडक भएर बाराको सिमरा र पथलैया पुग्ने भएकाले मोर्चाले इन्धन तस्करी नियन्त्रणका लागि उक्त चोकमा कार्यकर्ता खटाउँदै आएको थियो । उक्त चोकमा आन्दोलन उत्कर्षमा रहेका बेला एक दर्जनभन्दा बढी सवारी साधन लुटिएका थिए । कुशवाहाको हत्यालाई दुर्घटना बनाउने प्रयाससमेत गरिएको थियो । त्यसबेलाको आन्दोलनकारी मोर्चा अहिले नयाँ सत्ता समीकरणको समर्थक बनेपछि आन्दोलन क्रममा दर्ता भएका मुद्दा फिर्ता गर्ने सहमति भएको थियो । सोही क्रममा मोर्चाका स्थानीय नेताले गत सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयमा आन्दोलनका क्रममा विभिन्न मुद्दा लागि फरार रहेकाको विवरण बुझाएका थिए ।

आन्दोलन जनपरिचालन समिति संयोजक तथा संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादव नेतृत्वको टोलीले प्रजिअ केशवराज घिमिरेलाई तीनबुँदे ज्ञापनपत्र बुझाएको थियो । विवरणमा कुशवाहा हत्याका फरार अपराधीको नाम समेत समावेश भएको सार्वजनिक भएपछि पीडित परिवारले बुधबार हत्याजस्तो जघन्य अपराधलाई मधेस आन्दोलनसँग नजोडिदिन आग्रह गरेका हुन् । मृतकका भाइ दिनेशप्रसादले मधेस आन्दोलन वीरगन्ज केन्द्रित भए पनि रामविनेशको हत्या गाउँमा गरिएको बताए ।

‘आन्दोलनका बेला गाउँमा प्रहरीको उपस्थिति न्यून बनेको मौका छोपी अपराधी समूहले लुटपाट मच्चाएका थिए,’ उनले भने, ‘प्रतिकार गर्नेलाई कुट्ने गर्थे ।’ ट्यांकीबाट पेट्रोल खन्याउन नमान्दा रामविनेशलाई लाठीले छातीमा हिर्काउँदा मृत्यु भएको उनले बताए । ‘अपराध र आन्दोलन दुई अलगअलग कुरा हुन्,’ प्रशानमा ज्ञापनपत्र बुझाउने क्रममा उनले भने, ‘तर, अपराधलाई पनि आन्दोलनसँग जोडी अपराधीलाई उन्मुक्ति दिनु हुँदैन, यसले सिंगो समाजलाई नकारात्मक असर पर्छ ।’  कान्तिपुरमा भूषण यादवले लेखेका छन ।

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्