Logo
१३ बैशाख २०८१, बिहीबार
(July 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुमारीमा मतदान हुने, एनसीसी सँग मर्ज नहुने सम्भावना !

BANKकाठमाडौं । असार ३१ गते हुन लागेको कुमारी बैंकको विशेष साधारणसभामा मर्जको पक्ष र विपक्षमा मतदान हुने पक्का भएको छ । मर्जको विपक्षमा रहेका लगानीकर्ता जुट्दै गएका छन् भने मर्जको पक्षका प्रतिनिधिपत्र संकलन गर्नेहरु निराश भएका छन् । कुमारी बैंक, एनसीसी बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकबीच मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा कुमारी बैंक मर्जर प्रक्रियाबाट बाहिरिने सम्भावना बढेर गएको जानकारहरुले बताएका छन् ।

कुमारी बाहेक अन्य पाँच वटा बैंकहरुले विशेष साधारणसभा सम्पन्न गरेका छन् र मर्जर प्रस्तावलाई सर्बसहमतिमा अनुमोदन गरेका छन् । अन्तिममा विशेष साधारणसभा गर्न लागेको कुमारी बैंकका सेयरधनीहरु भने उक्त मर्जको पक्ष र विपक्षमा विभाजित भएका छन् । एनसीसीसँगको मर्जरलाई सफल बनाउने पक्षमा काम गर्दै आएका कुमारी बैंकका एक जना सञ्चालक बुधबार निकै निराश रुपमा भेटिए । त्यसको कारण हो मर्जको पक्षमा आवश्यक प्रोक्सी संकलन नहुनु । कम्पनी कानुन अनुसार मर्ज सम्बन्धि विशेष प्रस्ताव साधारणसभाबाट पारित गर्न दुई तिहाई मत आवश्यक हुन्छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ छ । मर्ज सम्बन्धि प्रस्ताव पारित गर्न कम्तिमा २ करोड २ लाख ४७ हजार कित्ता सेयरधनीले पक्षमा मतदान गर्नुपर्छ । तर हालसम्म मर्जको पक्षधरले करिव ७० लाख कित्ता सेयरधनीको प्रोक्सी संकलन गरेको छ । ‘कम्तिमा ६० प्रतिशत प्रोक्सी संकलन भएको भए मर्ज प्रस्तावको पक्षमा ७५ प्रतिशत खस्ने सम्भावना हुने थियो । तर अहिलेसम्म ३५ प्रतिशत प्रोक्सी पनि संकलन भएको छैन’–उनले भने । स्रोतका अनुसार बैंकको महत्वपूर्ण प्रवद्र्धक अमिरप्रताव राणा र उनको नातेदारहरुले प्रोक्सी दिन मानेका छैनन् । उक्त समूहसँग ४० देखि ४२ लाख कित्ता सेयर भएको बताईएको छ ।

उनीहरुले विपक्षमा मतदान गरेको अवस्थामा मर्ज विफल हुने स्रोतले बतायो । बैंकका सञ्चालक डा शोभाकान्त ढकाल भन्छन्–‘लगानीकर्ता अन्तिम निर्णयकर्ता हुन् । विशेष साधारणसभाले जे निर्णय गर्छ त्यसलाई सबैले मान्नैपर्छ ।’ राणा समूहले साधारणसभामा आफै उपस्थिति हुने भन्दै प्रोक्सी दिन नमानेको उनले बताए । कुमारी बैंकमा ४९ प्रतिशत सेयर सर्बसाधारणसँग भएकोले त्यसको ठूलो हिस्साले मर्जको विपक्षमा मत हाल्ने सम्भावना देखिएको छ । बैंकका एक लगानीकर्ताले भने–‘लगानीकर्ताले कसरी बढी कमाउन सकिन्छ भनेर हिसाव गरेका हुन्छन् । बोनस सेयर र हकप्रद सेयरको अपेक्षा गर्ने लगानीकर्ताले मर्जको विपक्षमा मत खसाल्नेछन् ।’

एनसीसीसँग मर्जपछि अवसरभन्दा जोखिम बढी रहेको मर्जको विपक्षमा रहेका लगानीकर्ताको भनाई छ । ‘चालु आर्थिक वर्षमा कुमारी बैंकले ८० करोड रुपैयाँ भन्दा बढी खुद नाफा गर्दैछ । खरावकर्जाको असुली राम्रो भएकोले नाफा १ अर्ब नजिक पुग्ने सम्भावना छ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २० देखि २५ प्रतिशत बोनस सेयर दिन सकिन्छ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट पनि बोनस सेयर दिन सकिन्छ । अपुक पुँजीको लागि हकप्रद सेयर जारी गर्न सकिन्छ’ ती लगानीकर्ता भन्छन् ।

प्रकाशित मिति: Jul 15, 2016

प्रतिक्रिया दिनुहोस्