Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युरोकप: बलियो जर्मनीलाई आयोजक फ्रान्सको चुनौती

Uro Cup

एजेन्सी, पेरिस ।  युरोकपको दोस्रो सेमिफाइनलमा शुक्रबार बिहान जर्मनी र फ्रान्स भिड्दैछन्। आयोजक फ्रान्सले जर्मनीलाई हराउन आफ्नो टोलीले हरेक हिसाबले तयार रहेको दाबी गरेको छ। फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पसले आफ्नो टोली युरोकपको फाइनलमा पुग्ने दाबी पनि गर्दै आएका छन्।

‘हामी कुनै पनि हालतमा राम्रो खेल खेल्ने छौं। मेरा खेलाडीले जर्मनीलाई हराउन सम्पूर्ण प्रयास गर्नेछन्’, उनी भन्छन्। डेसच्याम्पसले विश्वकप विजेता जर्मनी पनि उत्कृष्ट टोली भएको बताए। ‘जर्मनी विश्वकै राम्रो टोली हो तर, मेरा खेलाडी पनि जर्मनीको सबै पक्षलाई सामना गर्न तयार छन्। सेमिफाइनल खेल निकै महत्वपूर्ण हुनेमा दुईमत छैन।

हामी हाम्रो सम्पूर्ण बल लगाउनेछौं’, उनले थपे। जर्मनीलाई हराएर उपाधि घरमै राख्ने आफ्नो टोलीको योजनाले मूर्तरूप लिने उनले बताए । यसैगरी जर्मनीका प्रशिक्षक जोचिम लोयले घरेलु टोलीसँगको सेमिफाइनल खेल जर्मनका लागि निकै महत्वपूर्ण रहेको बताए । ‘घरेलु मैदान र दर्शकको साथ फ्रान्सलाई छ। फ्रान्सलाई हामीले बलियो प्रतिद्वन्द्वीका रूपमा लिएका छौं ।

बलियो इटालीलाई पेनाल्टी सुटआउटमा हराएपछि टोलीको मनोबल पनि बढेको छ। फ्रान्ससँग मेरा खेलाडीले वास्तविक खेल खेल्नेछन्। सेमिफाइनलमा हामी थप सुदृढ प्रदर्शन गर्नेछौं’, जोचिमले भने । दुई प्रशिक्षकले सेमिफाइनल जित्ने दाबी गरिरहँदा तथ्यांकमा भने फ्रान्स बलियो देखिएको छ। फ्रान्सले जर्मनीसँग सन् १९३१ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो ।

अहिलेसम्म यी दुई टोलीबीच २७ वटा भिडन्त भएका छन्, जसमध्ये १२ खेलमा फ्रान्सले जित हात पारेको छ। जर्मनी १० खेलमा विजयी भएको छ। पाँच खेल भने बराबरीमा सकिएको छ । जर्मनी र फ्रान्स पछिल्लो पटक सन् २०१५ नोभेम्बरमा आमनेसामने भएका थिए। मैत्रीपूर्ण उक्त खेलमा फ्रान्सले जर्मनीलाई २-० गोलले पराजित गरेको थियो।

विश्व फुटबलमा दबदबा जमाएका यी दुई टोलीबीचको सेमिफाइनल खेल निकै रोचक हुने अनुमान गरिएको छ। यतिबेला विश्व फुटबलमा चर्चाको शिखरमा रहेको जर्मनी युरोकपको उपाधि जित्दै छुट्टै कीर्तिमान बनाउने तयारीमा छ ।स्पेनसँगै तीनपटक युरोकपको उपाधि चुमेको जर्मनी चारपटक उपाधि जित्ने एकमात्र टोली बन्न चाहन्छ। जर्मनी हालसम्म तीनपटक उपविजेता बनेको छ।

यसैगरी सर्वाधिक युरोकप खेल्ने टोली पनि जर्मनी नै हो। सुरुआती तीन संस्करणमा सहभागी नभएको जर्मनीले सन् १९७२ देखि लगातार युरोकप खेलिरहेको छ । पहिलो सहभागितामै युरोकप च्याम्पियन बनेको जर्मनी (तात्कालीन पश्चिम जर्मनी) सन् १९८० र सन् १९९६ को संस्करणमा च्याम्पियन बनेको थियो। जर्मनीले जारी युुरोकपको प्रिक्वार्टरफाइनलसम्म कुनै पनि गोल खाएको थिएन।

जर्मनी बल पोसेसन, पासिङ, रक्षापंक्ति, मिडफिल्ड र स्ट्राइकिङ सबै पक्षमा राम्रो छ । टोलीका मुख्य स्ट्राइकर मारियो गोमजेन ह्यामस्ट्रिङ समस्याका कारण खेल्न नसक्ने भएकाले जर्मनीलाई केही अफ्ठ्यारो भने पर्न सक्छ । यसैगरी घरेलु मैदानमा जर्मनीसँग सेमिफाइनल भिड्न लागेको फ्रान्सको मनोबल पनि उच्च छ। फ्रान्सलाई यसअघि पनि ठूला प्रतियोगितामा घरेलु मैदान निकै फापेको देखिन्छ। #तस्बिरः एजेन्सी

प्रकाशित मिति: Jul 7, 2016

प्रतिक्रिया दिनुहोस्