Logo
८ बैशाख २०८१, शनिबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ भोटले जित्दै खेलकुद पत्रकार कास्कीको नेता बने पाठक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीको शुक्रबार पोखरामा सम्पन्न विशेष अधिवेशनले केशव पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पाठकले अध्यक्षका प्रतिष्पर्धी सन्देश श्रेष्ठलाई एक मत अन्तरले पराजित गरी आगामी तीन बर्षको लागि निर्वाचित भएका हुन् । मञ्च कास्कीमा ४२ मतदाता सङ्ख्या रहेकोमा ३५ भोट खसेको भध्ये पाठकले १८ र श्रेष्ठले १७ मत ल्याएका हुन् । पाठक संस्थापक सचिव हुन् भने श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । उपाध्यक्षमा दिननाथ बराल निर्विरोध चयन भए । सचिवको लागि त्रिपक्षीय प्रतिष्पर्धा भएकोमा रञ्जन अधिकारी विजयी बने । कार्यवाहक कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका अधिकारीले १५ मत प्राप्त गर्दा सचिवका प्रत्यासीद्वय मन क्षेत्रीले ११ र रोहितराज पराजुलीले ९ मत ल्याए । अन्य पदहरु भने सर्वसम्मत् रुपमा चयन भएको हो । कोषाध्यक्षमा विजय नेपाल र सहसचिवमा अर्जुन गिरी बाहेकको उम्मेदवारी परेन । ११ सदस्यीय समितिका सदस्यहरुमा सुरज श्रेष्ठ, उमेश पुन, सुरेन कुमार शुशिल, नारायण शाही, गिता राना र लक्ष्मी जिसी चयन भएका छन् । मञ्चका अध्यक्ष प्रेमनारायण न्यौपानेको राजीनामापछि ६ महिनाभित्रमा अधिवेशन गरी नयाँ कार्यसमिति निर्वाचित गर्नुपर्ने भएकाले शुक्रबार विशेष अधिवेशन भएको हो । नयाँ नेतृत्वका चयनका लागि निर्वाचन सम्पन्न गर्न मंचका केन्द्रीय अध्यक्ष महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन भएको थियो । सदस्यमा पत्रकार महासंघ केन्द्रीय सदस्य एवं अधिवक्ता सुष्मा पौडेल र जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल रहेका थिए । मञ्चले यही जेठ १ मा पोखरामै पहिलो पटक आयोजना गरेको स्पोर्टस् अवार्ड–२०७२ ऐतिहासिक रुपमा सम्पन्न गरेको थियो । यसअघि मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्यले कार्यक्रमको उद्घाटन गर्दै खेलकुद पत्रकारहरु मर्यादित रहनुपर्ने र राजनीतिक दलहरुको कुनै प्रभाव नहुने गरी एक जुट हुनु पर्नेमा जोड दिए । मञ्चका नेपालमा ९ वटा समन्वय शाखा मध्ये पोखरामा भएको स्पोटर्स अवार्ड अन्य क्षेत्र भन्दा उत्कृष्ट भएको दाबी गरे । अवार्ड समारोहलाई लाई निरन्तरता दिनु पर्नेमा उनको जोड थियो । मञ्चमा कुनै राजनीति भए केन्द्रले हस्तक्षेप गर्ने उनले चेतावनी दिए । मञ्च कास्कीका कार्यवाहाक अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दिननाथ बरालले प्रस्तुत गरेको प्रतिवेदन र कार्यवाहक कोषाध्यक्ष रञ्जन अधिकारीले पेश गरेको हालसम्मको आयव्यय प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । कार्यक्रममा सहसचिव अर्जुन गिरीले स्वागत गरेका थिए ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्